काठमाडौं । संयुक्त राष्ट्रसङ्घ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल आज आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् । परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् ।

साथै उनले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री वालेन्द्र शाह भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलवार (असोज ६ गते) अमेरिका प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ (सेप्टेम्बर २४) मा सम्बोधन गर्नेछन् । शाहले नेतृत्व गर्ने प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।
राष्ट्रसङ्घमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा जम्मा १४ जना हुनेछन् । अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत छ ।
अमेरिका भ्रमण सकेर प्रधानमन्त्री शाह सेप्टेम्बर २६ तारिख स्वदेश फर्किने कार्यक्रम छ भने परराष्ट्रमन्त्री खनाल यसको तीन दिनपछि आउनेछन् ।















