Logo
Logo

संविधान संशोधन सामान्य गट्टी खेल जस्तो होइनः झलनाथ


315
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संशोधनको नाममा वर्तमान संविधानलाई विकार बनाउने खेल भइरहेको आरोप लगाएका छन् । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा उनले संविधान संशोधन तत्काल आवश्यक नरहेको बताए ।

पहिला संविधानको सीमावलोकन गरेर अनि संशोधन गर्नुपर्ने भएमा सर्वदलीय सहमतिमार्फत गर्नुपर्ने उनको भनाई छ । तर अहिले संशोधनका नाममा संविधानको मर्म र भावनालाई कमजोर बनाउने प्रयास भइरहेको उनले बताए ।

संविधानको मर्म र भावना सीमावलोकन नै नभएको अवस्थामा संशोधनको बहस अघि बढाउनु उपयुक्त नहुने उनको भनाई छ । उनले समय र सन्दर्भविना नै संविधान संशोधनको हल्ला चलाइएको बताए ।

उनलेभ ने, ‘अहिले संशोधनको नाममा यो संविधानलाई विकार र विकृति तर्फ लाने कोसिस भइरहेको छ । यो संविधानको कमसेकम मर्म र भावनालाई चाहिँ संशोधन गर्नु हुँदैन । यसमा भएका त्रुटिहरू, कमजोरीहरूलाई साँच्चै नै केलाएर संशोधन गर्ने कुरा बेग्लै हो । त्यो भन्दा अगाडि हामीले सीमावलोकन गर्नुपर्ने आवश्यकता छ । संविधानको सीमावलोकन नै भएको छैन । पहिलो सीमावलोकन गर्नु प¥यो, अनि मात्रै यसका कमी कमजोरी छन् कि छैनन् भनेर देख्न सकिन्छ । अनि मात्रै संशोधनको कुरा आउन सक्छ । बेला न कुबेलाका मतलबी बाजाहरु बजाउँदै यो संशोधनका हल्लाहरु जो मचाइएका छन् नि बिल्कुल अनर्थका कुराहरु हुन् । संविधान संशोधन भनेको सामान्य त्यो गट्टी खेल जस्तो होइन । यो बडो गम्भीर रुपले, जिम्मेवारीपूर्वक, एउटा राष्ट्रिय धरातलबाट सोचेर, सिङ्गो राष्ट्रलाई यसमा संलग्न बनाएर, सबै राजनीतिक पार्टीहरुले बृहत् छलफल गरेर मात्रै संशोधन गर्ने प्रक्रियातर्फ हामीले जानुपर्ने हुन्छ ।’

नेता खनालले संविधान संशोधनलाई सामान्य राजनीतिक विषयका रूपमा नलिई गम्भीर र जिम्मेवारीपूर्वक अघि बढाउनुपर्नेमा जोड दिए । संशोधनको प्रक्रियामा सम्पूर्ण राष्ट्र तथा सबै राजनीतिक दललाई सहभागी गराई व्यापक छलफल गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्