Logo
Logo

भोटेकोशी बाढीको विषय राष्ट्रसंघ महासभामा उठाउन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई रास्वपाको निर्देशन


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीबाट भएको क्षति र त्यससँग जोडिएका बहुआयामिक विषयलाई संयुक्त राष्ट्रसंघको महासभामा उठाउन निर्देशन दिएको छ ।

आज बसेको सचिवालय बैठकले महासभामा सहभागी हुन लागेका प्रधानमन्त्री बालेन शाह र परराष्ट्र मन्त्री शिशिर खनाल लगायतको टोलीलाई भोटेकोशी विपद्सँग जोडिएका विषय उठाउने तयारी गर्न निर्देशन दिएको हो ।

‘संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जान लाग्नुभएका प्रधानमन्त्री, परराष्ट्र मन्त्री लगायतको कार्यदललाई नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधनकेन्द्रित गर्ने गरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ,’ रास्वपाद्वारा विज्ञप्तिमा उल्लेख छ ।

बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिएका व्यक्तिका परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंगोमा पु¥याउन पनि रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ । ‘पीडित परिवारलाई राहत तथा सुविधा उपलब्ध गराउनु,’ रास्वपाले सरकारलाई ध्यानाकर्षण गरेको छ ।

बैठकमा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता तथा आर्थिक कूटनीतिका विषयमा सचिवालयलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्