Logo
Logo

७३ जिल्लाका ६१ सय बढी वडामा कांग्रेसको अधिवेशन सम्पन्न


756
Shares

काठमाडौं । नेपाली कांग्रेसले ७३ जिल्लाका ६१ सय बढी वडामा अधिवेशन सम्पन्न गरेको छ । केन्द्रीय निर्वाचन समितिले ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको जनाएको हो।

असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनको हुन कार्यतालिकाअनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन दोस्रो दिन पनि उत्साहप्रद रूपमा अघि बढेको निर्वाचन समितिले जनाएको छ।

​केन्द्रीय निर्वाचन समितिका अनुसार हिमाली, पहाडी तथा तराईका अधिकांश जिल्लाहरूमा निर्वाचन तथा सर्वसम्मत प्रक्रियामार्फत नेतृत्व चयन भइसकेको छ। ​

यद्यपि, केही जिल्ला तथा निश्चित निर्वाचन क्षेत्रहरूमा भने वडा अधिवेशन हुन बाँकी छ। रसुवा, नुवाकोट, धादिङ र सिरहा जिल्लाका साथै मोरङ (क्षेत्र नं. ६), सप्तरी (क्षेत्र नं. २ र ४), सर्लाही (क्षेत्र नं. २), रौतहट (क्षेत्र नं. १) र परासी (क्षेत्र नं. २) का केही वडाहरूमा अधिवेशन हुन बाँकी रहेको छ। ​

छुट भएका तथा बाँकी रहेका सम्पूर्ण वडाहरूको अधिवेशन असोज ५ गते सोमबार पनि निरन्तर जारी रहने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। द्वन्द्वकालीन सहिद टीकाराज आरणका पुत्र शुक्रराज आरण नेपाली कांग्रेसको मन्थली नगरपालिका–९ को सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

वडा अधिवेशनबाट आरणको सभापतित्वमा १४ सदस्यीय कार्यसमिति तय भएको छ । निवर्तमान वडा सभापति महेश्वरी आरण प्रमुख निर्वाचन अधिकृतका रूपमा तोकिएकी थिइन् । अधिवेशनबाट सहिद पुत्र ज्ञानेन्द्रराज आरण पनि निर्वाचित भएका छन् ।

यस्तै, विज्ञ समूह, सहिद परिवार, प्रजातान्त्रिक सेनानी, दलित, महिला, अपांगता भएका व्यक्ति र जेनजी समूहबाट सबै प्रतिनिधि निर्विरोध छानिएका छन् । निर्वाचन समितिका अनुसार, सहिद क्लष्टरबाट खड्गराज आरण निर्विरोध प्रतिनिधि चयन भएका छन् । जेनजी समूहबाट सुनिता पुलामी मगर, लालबहादुर बोहरा र सुमन बोहरा निर्विरोध प्रतिनिधि चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्