झापा । कोशी प्रदेशमा डेंगु सङ्क्रमणको दर बढ्दै गएको छ । झापा जिल्ला डेंगुको सबैभन्दा उच्च जोखिममा देखिएको छ । कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशमा ७९३ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । डेंगुको सङ्क्रमण प्रदेशका १३ जिल्लामा फैलिएको छ । उनका अनुसार झापामा मात्रै हालसम्म २२८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । दोस्रो धेरै सङ्क्रमित भएको जिल्ला सुनसरी हो । जहाँ २०३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

निर्देशनालयका अनुसार ओखलढुंगामा १२२ जना र खोटाङमा ८२ जनामा सङ्क्रमण देखिएको छ । संखुवासभामा १८, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, धनकुटामा ४, मोरङमा २०, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
सोही अवधिमा विभिन्न जिल्लामा डेंगु सङ्क्रमणका ५१ वटा सम्भावित र दुई वटा शंकास्पद विरामी अस्पतालमा रहेको उनले जानकारी दिए । सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने लगायतका अभियान सञ्चालन आवश्यक रहेको उनले बताए ।















