
काठमाडौं । भोटेकोशी–त्रिशूली विपद्पछि काम गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डिपी अर्यालले विपद् सम्बन्धी काम गर्न संसदीय विशेष समिति गठनको प्रस्ताव गरेका थिए । उक्त प्रस्वात सर्वसम्मत रुपमा सदनले स्वीकार गरेको हो ।
समितिमा सांसदहरू अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुबराज राई, निशा डाँगी, पुष्पाराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेश कुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन् ।
समितिले पहिलो बैठकबाट संयोजक छनोट गर्नेछ । समितिको कार्यअवधि तीन महिना तय गरिएको छ । पछि समितिको म्याद थप गर्न सकिने प्रावधान पनि राखिएको छ । समितिले अध्ययनपछि प्रतिवेदन तयार गर्नेछ । समितिले तयार पारेको त्यस्तो प्रतिवेदन सभामा प्रस्तुत हुनेछ ।
हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्तावमा पृष्ठभूमि तथा औचित्य सम्बन्धी विषय छ ।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा विनाशकारी बाढी गएको थियो । उक्त बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ । यस घटनाले भविष्यमा जोखिमलाई प्राथमिकतामा राख्नुपर्ने पनि देखाएको सभामुख अर्यालले बताएका छन् ।
रसुवाको भोटेकोशीमा गएको बाढीको कारण जलवायु परिवर्तन भएको निष्कर्ष सरकारको छ । यसमा संसद्को पनि समर्थन छ ।
यही पृष्ठभूमिमा संसदले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न र नीतिगत सुधार तथा अनुगमनका लागि विशेष समिति गठन गरेको हो । संसदीय विशेष समितिले भोटेकोशीको विपद्को अध्ययन र भाविष्यमा गर्ने कामको लागि सुझाव दिनेछ ।













