Logo
Logo

अकूत सम्पत्तिमा फस्दै राजेश बज्राचार्य


5k
Shares

काठमाडौं । २०७४ सालमा केपी शर्मा ओली दुईतिहाइ बहुमतसहितको प्रधानमन्त्री थिए । उनले चाहेको भए पाँच वर्षभित्र देशमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम हुन सक्थ्यो । त्यसका लागि उनले ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न’ भन्ने महानवाणी हरेक मन्त्रालय, विभाग र सरकारी निकायको मूलढोकामा टाँस्न लगाए ।

त्यति मात्र होइन, उद्योगी, व्यापारीहरुसँगको भेटमा उनले यही कुरा दोहो¥याउँदै ‘भ्रष्टाचारीलाई ठाउँका ठाउँ कारबाही गर्छु, ऐयाँ आच्छु पनि भन्न दिन्न’ भन्नसम्म भ्याए । उनको कुरा सुनेर उद्योगी व्यापारीहरुले पनि बालुवाटार बैठकमा जिब्रो टोके । तर, उनको कार्यकालमा एकजना भ्रष्टाचारी, बिचौलिया, माफियाहरुमाथि कारबाही भएन । उल्टै रातारात बिचौलियाहरु बालुवाटारमा उनको बेडसम्मै पुग्न थाले ।

यसरी रातारात बालुवाटार पुग्ने बिचौलिया व्यापारीसँगको सेटिङ ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले गर्ने गरेका थिए । ओलीको ‘हटलाइन’ मोबाइल पनि स्वकीय सचिव बज्राचार्यले बोक्ने भएकोले उनलाई ‘सेटिङ’ गर्न सजिलो भयो । तिनै राजेश बज्राचार्य अहिले अकूत सम्पत्ति छानबिनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसँग पटकपटक लिखित बयान लिएका छ । सुरुमा सिआइबीले पनि उनको सम्पत्तिमाथि छानबिन अगाडि बढाएको थियो । सोही फाइल सिआइबीले कारबाहीका लागि अख्तियारमा पठाएको छ ।

अख्तियारले बज्राचार्यबाहेक शेरबहादुर देउवाका स्वकीय भानु देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय गंगा दाहालको सम्पत्तिमाथि पनि छानबिन अगाडि बढाएको छ । देउवा र दाहालसँग पनि अख्तियारले बयान लिएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार भानु देउवाले अकूत सम्पत्ति कसैको नाममा लुकाएको आशंका गरिएकोले उनीमाथि विस्तृत छानबिन भइरहेको छ भने गंगा दाहालको सम्पत्तिमा खासै त्यस्तो प्रमाण अख्तियारले भेट्टाउन सकेको छैन ।

तर, राजेश बज्राचार्यको हकमा झण्डै १५ करोडबराबरको सम्मत्तिमाथि छानबिन भइरहेको छ । उनले त्यत्रो रकमको स्रोत खोल्न सकेका छैनन् । प्रहरी कर्मचारी सरुवा बढुवामा उनले अकूत सम्पत्ति जोडेको अनुसन्धानबाट खुलेको छ भने यती होल्डिङको खाताको खर्च विवरणमै उनको नाम उल्लेख गरिएको छ ।

दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गामा यती होल्डिङ्सलाइ लिजमा ठेक्का दिँदा बालकोटस्थित रोज हाउजिङमा घर किनेको कुरा बाहिर आए पनि यती होल्डिङसले उनलाई कम्पनीको खाताबाट ९६ लाख मात्र दिएको देखिएको छ ।

त्यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि उनको नाम जोडिएको थियो । उक्त प्रकरणमा पक्राउ परेका व्यक्तिहरुले एक करोड रुपैयाँ बालुवाटार पुगेरै बुझाएको बयान प्रहरीसमक्ष दिएका थिए । यसै सन्दर्भमा बज्राचार्यसँग निकट तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका स्वकीय राजेश भन्ने व्यक्ति र ओलीनिकट अजय क्रान्ति शाक्यलाई पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडौं बुझाएको बयान आरोपीहरुले प्रहरीलाई दिएका थिए । राजेश बज्राचार्यसँग यिनीहरुको निकट सम्बन्ध भएकोले उक्त रकम पनि राजेश बज्राचार्यले नै बुझेको हो कि भन्नेतर्फ अनुसन्धानको सुइ घुमेको छ ।

ओलीका स्वकीय सचिव बज्राचार्य अख्तियारको छानबिनपछि तनावमा छन् । उनले अख्तियारको कारबाहीबाट बच्न प्रधानमन्त्री बालेनका सल्लाहकार कुमार बेन, सुनिल लम्साललगायत रास्वपा नेताहरुकहाँ ‘सोर्स’ लगाए पनि अकूत सम्पत्तिको स्रोत खोल्न नसक्दा बज्राचार्य सम्पत्ति शुद्धीकरणको मुद्दामा फस्ने देखिन्छ ।

त्यसो त उनलाई जोगाउन ओलीले पनि अख्तियारमाथि दबाब नदिएका होइनन्, तर सिआइबीको अनुसन्धान प्रतिवेदनका कारण उनी उम्कन सक्ने देखिन्न । उनको छानबिन अन्तिम चरणमा पुगेको छ । ओलीका एकजना स्वकीयले त करोडौंकरोड अकूत सम्पत्ति जोडेको देखिएको छ भने उनीनिकट अन्य सल्लाहकार, विज्ञहरुले कति अकूत सम्पत्ति जोडे होलान् प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्