काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा चालकको निधन भएको प्रहरीले जनाएको छ । उनको सोमबार राति नै निधन भएको प्रहरीले जनाएको छ ।

अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो ।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको थियो । आगलागी भएको बस नम्बर बा५ख ४२७४ हो ।
चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो । घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ ।













