Logo
Logo

अविरल वर्षाले जनजीवन प्रभावित : ग्रामीण क्षेत्रमा यातायात ठप्प


126
Shares

भोजपुर । केही दिनदेखि परेको अविरल वर्षाका कारण भोजपुर जिल्लाको समग्र जनजीवन कष्टकर बनेको छ । लगातारको झरीका कारण पहाडी सडकखण्डमा यातायात सेवा ठप्प हुँदा आवागमनमा सास्ती भएको हो । 

The current image has no alternative text. The file name is: hold.jpg

वर्षाका कारण ग्रामीण क्षेत्रका कच्ची सडकहरू हिलाम्य हुनुका साथै ठाउँठाउँमा पहिरो जाँदा आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ । ग्राणीण क्षेत्रमा यातायात तथा ढुवानी सेवा बन्द भएपछि दैनिक उपभोग्य खाद्य सामग्री ढुवानीमासमेत समस्या भएको छ । सवारीसाधन नचल्दा बिरामी तथा अशक्त नागरिकलाई उपचारका लागि अस्पतालसम्म पुर्‍याउन कठिन भइरहेको टेम्केमैयुङ गाउँपालिका-५ मझौलेका स्थानीय धनराज राईले बताए । 

सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोजपुर सदरमुकामबाट उत्तरी क्षेत्रको षडानन्द नगरपालिका तथा दक्षिणी क्षेत्रको बैकुण्ठे हुँदै हतुवागढी र आमचोक गाउँपालिका जोड्ने सडकखण्डमा असोज ८ गतेदेखि यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

साथै मध्यपहाडी लोकमार्गमा रातको समयमा हुन सक्ने सम्भावित दुर्घटना र पहिरोको जोखिमलाई न्यूनीकरण गर्न बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म अत्यावश्यक बाहेकका सबै यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

वर्षाले धानबालीसमेत क्षति पुर्‍याएको स्थानीय किसान बताउँछन् । भोजपुर नगरपालिका-४ दावा पशुपालन कृषक एकिन्द्रबहादुर विष्टले अविरल वर्षा र हिलोका कारण धानबालीसँगै व्यावसायिक पशुपालनमासेमत असर पुगेको बताए । निरन्तरको वर्षातले पशु चौपायालाई घाँस(पात र दानापानीको व्यवस्थापन गर्न झनै समस्या परेको उनको भनाइ छ । 

जिल्लाका पहाडी भू-भाग तथा संवेदनशील क्षेत्रहरूमा पहिरोको त्रास बढेकाले उच्च जोखिममा रहेका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । सम्भावित विपद्को व्यवस्थापन, अनुगमन र उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय तहका प्रतिनिधिहरू तयारी अवस्थामा रहेका छन् । 

स्थानीय प्रशासनले विपद्को यो कठिन समयमा अति आवश्यक कामबाहेक यात्रा नगर्न र खोलानाला तथा पहिरोग्रस्त क्षेत्र आसपास नजान सर्वसाधारणलाई विशेष सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्