
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धी आयोजनाका आवश्यक कागजात सात दिनभित्र बुझाउन लेखा समितिले निर्देशन दिएको छ ।
मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा आयोजनाको आर्थिक, प्राविधिक तथा प्रक्रियागत पक्षबारे छलफलपछि सभापति भरतबहादुर खड्काले थप अध्ययनका लागि आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको बताएका हुन् । आयोजनाको आर्थिक, प्राविधिक र प्रक्रियागत विषयमा व्यापक छलफल भएको खड्काले बताए ।
‘आज नेपाल विद्युत प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारका सम्बन्धमा अत्यन्त उपयोगी छलफल भएको मैले महसुस गरेको छु। यस आयोजनाका आर्थिक, प्राविधिक तथा प्रक्रियागत पक्षहरूबारे व्यापक छलफल भएको छ,’ उनले भने, ‘थप जानकारी प्राप्त गर्नुपर्ने आवश्यकता महसुस गर्दै समितिको तर्फबाट सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजातहरू समितिमा उपलब्ध गराउन निर्देशन दिन चाहन्छु।’
उनले थप जानकारी आवश्यक रहेको भन्दै सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात समितिमा बुझाउन निर्देशन दिए। सभापति खड्काले राज्यको सेवा प्रवाहलाई प्रभावकारी बनाउनु सबैको साझा दायित्व भएको बताए। तर राज्यका कामकारबाही सञ्चालन गर्दा विधि, प्रक्रिया, पद्धति र प्रणालीलाई अनिवार्य रूपमा पालना गर्नुपर्ने उनको भनाइ थियो।
‘हामी विषयवस्तुको अध्ययन गर्छौँ, आवश्यक सहजीकरण गर्छौँ र सम्बन्धित विषयको प्रकृति हेरेर नै थप प्रक्रिया अगाडि बढाउँछौँ,’ खड्काले भने। यी विषय लोकतन्त्रका आधारभूत मान्यता र मापदण्ड भएकाले तिनलाई मध्यनजर गरेर अगाडि बढ्नुपर्ने उनले बताए। सभापति खड्काले सार्वजनिक लेखा समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अदालतजस्तो निकाय नभएको स्पष्ट पार्दै समितिको आफ्नै निश्चित कार्यक्षेत्र रहेको स्मरण गराए।
उनले नेपाल विद्युत प्राधिकरणका राष्ट्रसेवक कर्मचारीलाई विधि, प्रक्रिया र प्रणालीभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे। समितिले सात दिनभित्र आवश्यक कागजात प्राप्त गरेपछि आयोजनाको प्राविधिक, आर्थिक तथा प्रक्रियागत पक्षमा थप अध्ययन र छलफल अघि बढाउने जनाएको छ।


















