नवलपरासी । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र तनहुँ जोड्ने मोटरेबल पुलको पहुँचमार्ग नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नवलपरासीको बौदीकाली गाउँपालिका-२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका-मन्दार जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको डेढगाउँतर्फको पहुँचमार्ग नदी कटानका कारण भासिएको हो । पुलको एक छेउ पूर्ण रूपमा भाँसिएपछि उक्त सडकमा सवारीसाधन तथा पैदल यात्रासमेत बन्द भएको छ ।
स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त बाटो प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यात्रालाई सुरक्षित बनाउन वैकल्पिक मार्ग प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।














