काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औँ महाधिवेशनका लागि गठन गरेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ ।

महराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर इतर समूहको सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई क्रियाशील सदस्यताको विवरण हस्तान्तरण गरेका हुन् ।
९ असोजसम्म वितरण र नवीकरण गरिएका क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई बुझाउँदै संयोजक पौडेलले कूल सदस्य सङ्ख्या सात लाख ८३ हजार ८३६ रहेको जानकारी दिए ।
जसमध्ये पाँच लाख ७३ हजार २६९ पुरानो सदस्यता नवीकरण र दुई लाख १० हजार ६६७ नयाँ क्रियाशील सदस्यता रहेको बताए । संयोजक पौडेलले शनिवारदेखि नयाँ क्रियाशील सदस्यता अनलाइनमार्फत वितरण गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।
१४ औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवाको समूहले जारी कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।उक्त समूहले २१–२३ मङ्सिरमा केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने गरी कार्यतालिका ल्याएको छ । इतर समूहले १५ असोजमा देशभरका वडाहरूमा वडा अधिवेशन गर्दै छ ।
१५ औँ महाधिवेशनका लागि इतर समूहले पूर्वमहामन्त्री डा। शशांक कोइरालाको संयोजकत्वमा ‘१५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति’ गठन गरेको छ । समितिले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि र ५५ जिल्लामा संयोजकहरू तोकेर महाधिवेशनको तयारी गरिरहेको छ ।














