Logo
Logo

धाप ड्याम पूर्णरूपमा सुरक्षित, ३५ प्रतिशत पानी घटाइयो


882
Shares

काठमाडौं । धाप बाँध आयोजनाले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम)सुरक्षित रहेको जनाएको छ । 

The current image has no alternative text. The file name is: dam.jpg

नागमती तथा धाप बाँध आयोजनाले शनिवार विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकाको सुख्खायामको पानीको आवश्यकता पूर्ति गर्न निर्मित धाप बाँध र यसको मुख्य संरचना हालसम्म पूर्ण रूपमा सुरक्षित रहेको जनाएको हो । 

भारी वर्षापछि धाप बाँधको अवस्थाबारे प्रश्न उठेपछि नागमती तथा धाप बाँध आयोजनाले अवस्था स्पष्ट पारेको हो । आयोजनाले बाँध क्षेत्रमा केही दिनअघि देखिएको जोखिम पनि पूर्णरुपमा हटेको वस्तुस्थितिकै भिडियो पनि सार्वजनिक गरेको छ । 

आयोजनाकाअनुसार निरन्तरको मनसुनजन्य वर्षाका कारण जलाशय तथा आसपासका क्षेत्रमा पानीको बहाव बढेपछि प्राविधिक टोलीले बाँधको अवस्था, जलसतह तथा पानीको आवगमन माथि नियमित निगरानी गरिरहेको छ ।

गत भदौ २४ गते साँझ स्याडल ड्याम-१ नजिकै सडक किनारामा पहिरो गएपछि सुरक्षात्मक कदम छिटो चालिएको थियो । आयोजनाका अनुसार सोही दिन साँझदेखि आउटफ्लोमार्फत करिब ४०० लिटर प्रतिसेकेन्ड पानी निरन्तर बाहिर पठाइएको छ । जसका कारण जलाशयको जलसतह २.३८ मिटरले घटेर हाल २०८४.८० मिटरमा आएको छ भने कुल सञ्चित पानीको करिब ३५ प्रतिशत हिस्सा सुरक्षित रूपमा निकासा भइसकेको छ ।

आयोजनाकाअनुसार धाप बाँधको सामान्य जलसतह २०८७.१४ मिटर रहेको छ । यदि आगामी दिनमा भारी वर्षा भई जलसतह यो बिन्दुभन्दा माथि पुगेमा अतिरिक्त पानी स्पिलवे बाट स्वतः बाहिर जाने प्राविधिक व्यवस्था मिलाइएको छ । हाल वर्षाको मात्रा घट्दै गएकाले बाँधमा भित्रिने पानीको मात्रा पनि कम हुँदै जाने अनुमान गरिएको छ ।

आयोजनाले पहिरो प्रभावित क्षेत्रमा आवश्यक पानी निकास, तटबन्ध तथा आपत्कालीन व्यवस्थापनका कार्यहरू द्रुत गतिमा अघि बढाएको छ ।  बाँधको सुरक्षा र प्राविधिक मूल्याङ्कन निरन्तर भइरहेकाले कुनै अप्रिय जोखिम नरहेको र सर्वसाधारणलाई अनावश्यक त्रास नमान्न तथा आधिकारिक सूचनामा मात्र विश्वास गर्न आयोजनाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्