Logo
Logo

अमेरिकी प्रतिबन्धले इरानी उडान प्रभावित, छुटका लागि इराकको पहल


315
Shares

काठमाडौं । इरानी एयरलाइन्समाथि अमेरिकाले लगाएको प्रतिबन्धका कारण बिरामी, विद्यार्थी तथा धार्मिक यात्रु प्रभावित भएपछि इराक सरकारले केही विमानस्थललाई उक्त प्रतिबन्धबाट छुट दिन अमेरिकासँग वार्ता थालेको छ।

The current image has no alternative text. The file name is: iranairlines.jpg

इराकका सबै विमानस्थलले यसै साता अमेरिकी प्रतिबन्ध कार्यान्वयन गरेपछि इरानबाट हुने उडान प्रभावित भएका छन् । यसको सबैभन्दा ठूलो असर पवित्र सहर नजफस्थित विमानस्थलमा परेको छ, जहाँ इरानी विमानहरूको आवतजावत उल्लेख्य हुने गरेको छ ।

इराकी प्रधानमन्त्रीको सञ्चार कार्यालयले शनिवार दिएको जानकारीअनुसार, सरकारले “केही इराकी विमानस्थललाई अमेरिकी प्रतिबन्धबाट छुट दिन अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ता गरिरहेको” छ ।

इराकले चिकित्सा उपचार, शिक्षा र धार्मिक यात्राजस्ता मानवीय प्रयोजनका लागि उडान सञ्चालनलाई निरन्तरता दिन छुट आवश्यक रहेको जनाएको छ । सरकारका अनुसार यसले सर्वसाधारणको आवतजावत सहज बनाउन पनि मद्दत गर्नेछ ।

इरानी एयरलाइन्सले मुख्यतः इरानका पवित्र धार्मिक सहरमा जाने इराकी शिया तीर्थयात्री तथा इराकका धार्मिक स्थलमा आउने इरानी नागरिकलाई सेवा दिँदै आएका छन् । यी उडानमार्फत इरानमा अध्ययनरत इराकी विद्यार्थी र उपचारका लागि इरान जाने बिरामीहरूले समेत यात्रा गर्दै आएका छन् ।

प्रतिबन्ध कार्यान्वयन भएपछि केही इराकी नागरिक उपचारका लागि इरान जान नपाइने चिन्तामा छन् भने केही यात्रु इरानमै अलपत्र परेका छन् । उनीहरूमध्ये कतिपयलाई स्थलमार्ग हुँदै घर फर्किन १२ घण्टाभन्दा बढी समय लाग्ने अवस्था आएको छ ।

अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले बुधवार इरानी एयरलाइन्सलाई “बन्द गरिने” बताएका थिए । त्यसपछि संयुक्त अरब इमिरेट्ससहित केही देशले अमेरिकी प्रतिबन्ध कार्यान्वयन गर्न थालेका छन् ।

इराक र इरानबीच धार्मिक, राजनीतिक तथा आर्थिक सम्बन्ध लामो समयदेखि घनिष्ठ रहँदै आएको छ। दुवै देशमा शिया मुस्लिम समुदायको ठूलो जनसंख्या रहेको छ । यसअघि मध्यपूर्वमा युद्ध सुरु भएपछि इराकी एयरलाइन्सले फेब्रुअरीदेखि नै इरानतर्फका उडान स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्