
–हामीले यसै हेर्दा उहाँको शरीर रोगले थलिएको थियो । आफैँ भन्नुहुन्थ्यो, ‘कमरेड, मेरो शरीरलाई २६ वटा त एलर्जी छ । रोग त अरू कति हो कति ! तर यस्ता नाथेलाई म पार लाउँछु ।’ कुरोको मेलो तन्काउँदै उहाँ थप्नुहुन्थ्यो, ‘तर कम्युनिस्ट आन्दोलनको पुनर्गठनको अभियान पार लाउन चाहिँ मलाई समय पुग्ला जस्तो छैन । अब युवाहरू तात्नुप¥यो ।’
–नेकपा (एकीकृत समाजवादी)को दसौँ महाधिवेशनमा उहाँले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभयो । पछि उम्मेदवारी फिर्ता लिँदै आफैँले सदस्यता दिएको राजेन्द्र पाण्डेलाई सो पदमा निर्विरोध निर्वाचित गराउन पाउँदा खुसी व्यक्त गर्नुभयो । त्यतिबेला उहाँले गला अवरुद्ध पार्दै पार्टीका केन्द्रीय सदस्यहरूका माझ अब वाम आन्दोलन, सुरुवाती पुस्ताले हस्तान्तरण गर्ने र नयाँ पुस्ताले आफ्नो योजना र ल्याकतमा अघि बढाउने कुराको वकालत गर्नुभयो ।
–‘मैले टालटुले एकताका लागि यो निर्णय गरेको थिइनँ, आन्दोलनलाई नयाँ रूप र दिशा दिन खोजेको थिएँ । तर सकिनँ । सायद यस्तो बाटोमा उहाँलाई ढुक्क लाग्ने गरी, उहाँले सोचेजस्तो गरी कोही हिँडेन । अथवा कोही अलि छिटो हिँडिदेओस् भन्ने चाह पनि थियो होला मनमा । यस्तै कुराले होला, एकताको टुङ्गो लागेको बैठकपछि उहाँको बेचैनी झनै मुखरित भएको हामीले पायौँ । क्रान्तिलाई सही दिशा दिन उहाँ रूपान्तरणकारी वाम आन्दोलनको अर्थपूर्ण पुनर्गठन र एकताको पक्षमा हुनुहुन्थ्यो ।
–‘आज मलाई भक्तपुर पु¥याउन भ्याउनुहुन्छ ?’ भक्तपुरमा कमरेड घनेन्द्रको भान्जा, मित्र सञ्जीव रोकाहाले घर बनाउँदै हुनुहुन्थ्यो । यो नयाँ कुरा थिएन, पूर्व हुँदा कहिलेकाहीँ मोरङ र धेरैचोटि कमलपोखरी डेरामा म पुगेको थिएँ । ‘समाजवाद किन र कसरी’ भन्ने पुस्तक प्रकाशनका दौरानमा अर्जुन राई र मैले उहाँसँग अबको समाजवादी आन्दोलनबारे लेख्न भन्यौँ । उहाँले हिजोको संघर्ष, आजको धोका र अब गर्नुपर्ने कामबारे महत्त्वपूर्ण विषयहरूमा कलम चलाउनुभयो । ‘अब यतिले मात्र पुग्दैन, म अलिक मसिनै गरी लेख्छु,’ उत्साही हुँदै उहाँले सुनाउनुभयो ।
–‘कमरेड, झुक्यायो है मलाई, खोकी मात्र हो भनेको, अलि ठूलै रोग पो लागेछ । तर यो मुलालाई जित्छु है ।’ उहाँले फोनमा र भेट्दा भनेका कुरा निकै आत्मबलले भरिएका थिए ।
–कमरेड बेदुराम भुसाल, प्रमेश हमालसहित उहाँलाई भेटेर आएपछि साह्रै ननिको लाग्यो । स्वर अलि भासिएको थियो । उपचारका लागि खर्च ज्यादा लाग्ने भएकाले कसरी व्यवस्थापन गर्ने चिन्ता थियो ।
‘सकेको सहयोग त जुट्दै छ, भारत जानुपर्ने भयो । तर आवश्यक खर्चको जोहो पो हुन्न कि ?’ उहाँको बोली मेरो मनमै गढेर बस्यो ।
–नेकपा एमालेको नवौँ महाधिवेशनपछि उहाँसँग अलिक धेरै भेट हुन थाल्यो । अझ संसद् विघटनपछि, नेकपा (नेकपा)मा भएको विभाजन र नेकपा (एकीकृत समाजवादी) गठन भएपछि भने सम्बन्ध, आउजाउ र संवादको बाक्लोपन बढ्यो । यो भेटघाटले उहाँको मानवीय जिन्दगीका अन्य रङ्गहरूसँग साक्षात्कार हुन पुगेँ म ।
–इटहरीमा कमरेड बलदेव चौधरीसँग मिलेर उहाँहरूले एउटा डेरा लिनुभएको थियो । त्यसलाई ‘क्वार्टर’ भन्ने गरिन्थ्यो । पार्टीको समग्र काम त्यहीँबाट गर्ने, जमेर पार्टी स्थापित गर्ने उहाँको सोच थियो । एक दिन पुग्दा तरकारी काटकुट पारेर, आफ्नै सुरमा खाना पकाउँदै, ‘तुझसे नाराज नहीं जिन्दगी, हैरान हूँ मैं’ गुन्गुनाउँदै हुनुहुन्थ्यो । उहाँले यो अलिकति सुर चढाएर धेरैचोटि गाएको उहाँसँग सङ्गत गर्नेहरूले पक्कै सुनेको हुनुपर्छ ।
जीवनको उत्तरार्धमा आफ्नै पुराना सहकर्मीहरूको व्यवहार र सत्ताको बदलिएको रङ्ग देखेर सायद उहाँको मन अमिलिन्थ्यो । त्यसैलाई अभिव्यक्त गर्न ‘तुझसे नाराज नहीं जिन्दगी, हैरान हूँ मैं’ शब्दहरू अन्तरमनबाट उहाँको ओठमा चढ्थे होलान् ।
उहाँले बाँचेको जीवनको आदर्श र वास्तविकताबिचको खाडल सम्भवतः यो गीतले गहिरो गरी अभिव्यक्त गथ्र्यो । क्रान्तिका नाममा ठूला र ओहदामा पुगेका, मन्त्री÷प्रधानमन्त्री भएका, हिजो १६ वर्षे कठोर जेलजीवन र सङ्गठन निर्माणताकाका अनेकन कालखण्डका सहकर्मीहरूको साथ–समर्थनको उत्साह अनि कतिपयले भने बाटो बिराएकोप्रति उहाँमा गहिरो दुःख थियो । तर यति मात्र होइन, प्रश्न, आलोचना र खबरदारी गरेकै कारण दरकिनार गर्न गरिएका प्रयत्नप्रति भने उहाँलाई कतै न कतै पक्कै पनि गहिरो असन्तुष्टि थियो ।
तथापि, आफूलाई पाखा लगाउनेहरू र राजनीतिक उतारचढावप्रति उहाँले कुनै आक्रोश पोख्नुभएन । उहाँले आशा गरेका कतिपय सहकर्मीहरूले उहाँको निष्ठालाई बुझेनन् सायद । वा बुझ्न चाहेनन् । कतिपय अवस्थामा उहाँलाई बेवास्ता र अपमान पनि गरे होलान् । तर घनेन्द्र कमरेडले कहिल्यै त्यसको प्रतिशोध साँध्नुभएन र कसैप्रति गुनासोको भारी बोकेर हिँड्नु पनि भएन ।
मान्छेको मृत्यु भएपछि प्रशस्ती गाइन्छ भनेर भन्ने चलन छ यहाँ । तर सामान्यतया वास्ता नगरिएका व्यवहारहरू नै अनुपस्थितिमा भने खुब याद आउने रहेछन् । अहिले यसो सोच्दा यस्तो प्रतीत हुन्छ– उहाँले बाँचेको र बोकेको ‘क्रान्ति’, ठूला–ठूला मञ्च र सत्ताका खोक्रा भाषणहरूमा होइन, बरु व्यवहार र जीवनशैलीमा झल्किन्थ्यो ।
उहाँले आफ्नो निजी जिन्दगीबारे साह्रै कम कुरा गर्नुभयो । लगभग गर्नु नै भएन । पारिवारिक सम्बन्धका केही असजिला कुराहरू थिए । एकपटक उहाँसँग उहाँकै बिर्तामोडको घर जाँदा सामान्य पारिवारिक चिनाजान भयो । केही अनुमान भयो । तर रूपान्तरणकारी राजनीतिक संघर्षको भोक उहाँमा यति थियो कि पारिवारिक अप्ठ्याराहरूले समेत उहाँको राजनीतिक सक्रियतामा अवरोध खडा गर्न सकेन ।
यीनका प्रगतिशील गीतहरू, अनि माटोको आवाजका रूपमा गाउँघरमा चलेका लोकभाकाहरू, दोहोरीहरू निकै रुचिपूर्वक गाउनुहुन्थ्यो ।
अलिकति पिएर थोरै मातिँदै, ‘तिम्रो घर त चाँचरी त्यहीँ तल हैन र ?’ गाउँदा होस् वा ‘आलु दम चाना’ गाउँदा किन नहोस्, उहाँमा रहेको जीवनप्रतिको गहिरो लगाव र बाँच्ने उत्कट चाहना अभिव्यक्त हुन्थ्यो । मुस्कुराउँदै भन्नुहुन्थ्यो, ‘कमरेड, म ईप्सल सञ्ज्यालसँग पनि दोहोरी गाउन सक्छु है ।’
मानवीय कमजोरी भनेकै वास्तविक मान्छे हो । तसर्थ एउटा मान्छेका रूपमा के कमजोरी थियो, के योग्यता थिएन भन्नेभन्दा पनि कमरेड घनेन्द्रसँग के चाहिँ थियो त ? भन्ने कुरा स्मृतिमा आइरहेको छ ।
एउटा अनुपम सादगी बोकेको मान्छे, जसले मेरो बा–आमाको पुस्तालाई क्रान्तिका लागि उत्प्रेरित ग¥यो, मेरो पुस्तालाई संघर्षको विरासत हस्तान्तरण मात्र गरेन, अब क्रान्तिको जिम्मा लिने राजनीतिक, वैचारिक र साङ्गठनिक तयारीका लागि अभिभावकीय जिम्मेवारीसहित निरन्तर घचघच्याइरह्यो । अप्ठ्यारो र नसोचेको परिस्थितिमा पनि जीवन जिउने गज्जबको क्रान्तिकारी ऊर्जा भरेर बाँचिरह्यो, बाँच्न भनिरह्यो ।
जिन्दगीको गीत गाइरहने कमरेड घनेन्द्र जीवनबाटै बिदा भए पनि हाम्रो मस्तिष्कको, मुटुको र कम्युनिस्ट इतिहासको पानाबाट सजिलै बिदा हुनुहुने छैन ।
अलबिदा कमरेड घनेन्द्र !
अलबिदा !













