काठमाडौं । अविरल वर्षाले देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूलीले सडक कटान गर्दा सो खण्डमा यातायात अवरुद्ध भएको छ ।

काभ्रेको रोशीमा आएको बाढीले वीपी राजमार्ग पनि पूर्ण रुपमा बन्द भएको छ भने ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेस्थित कान्तिलोकपथ पनि पहिरोका कारण अवरुद्ध भएको छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोरमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सल्यानको बनगाड कुपिन्डे नगरपालिका-११ मा पहिरो जाँदा बालुवासंग्रही सडक पनि पूर्णरुपमा बन्द भएको छ ।
यसैगरी, धादिङको धुनिवेशी नगरपालिका-९ मा पहिरो जाँदा त्रिभुवन राजपथ एकतर्फी भएको छ ।
नवलपरासीमा कालीगण्डकी कोरिडोर, म्याग्दीमा बेनी-जोमसोम सडक, मनाङमा बेशी सहर हुँदै खाङसारसम्म जाने सडक पनि एकतर्फी छन् ।
उता कर्णाली प्रदेशको डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिका-९ मा पनि पहरो जाँदा भेरी कोरिडोर एकतर्फी भएको छ ।
सुरुवामा गत भदौ १० गते गएको बाढीले बगाएको राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन ।













