काठमाडौं । गत भदौ १० गते आएको भोटेकोशीको बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ ।

पुल निर्माणसँगै आइतबारबाट उक्त खण्डमा सवारीसाधनको आवागमन औपचारिक रूपमा सुचारु भएको हो । गत भदौ १० मा भोटेकोशी नदीमा आएको भीषण बाढीले फडाकु खोलास्थित पुल बगाउँदा सिन्धुपाल्चोकको यस क्षेत्रमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो । लामो समयसम्म सवारी आवागमन ठप्प हुँदा स्थानीयवासी र यात्रुहरूले सास्ती भोग्दै आएका थिए ।
सडक विभाग र स्थानीय प्रशासनले पुल निर्माणलाई प्राथमिकतामा राखेर युद्धस्तरमा काम अगाडि बढाएका थिए । प्राविधिकहरूको निरन्तर प्रयासपछि हाल उक्त स्थानमा जडान गरिएको मोडुलर एक्रो ब्रिजबाट यातायात सञ्चालन गर्न सकिने अवस्था बनेको छ । बिहान ११ बजेबाट पुलको उद्घाटन गर्दै यातायातका साधनहरूलाई आवतजावतका लागि अनुमति दिइएको हो ।
पुल सञ्चालनमा आएसँगै उक्त मार्ग हुँदै हुने दैनिक उपभोग्य वस्तुको ढुवानी तथा जनजीवन सामान्य बन्ने अपेक्षा गरिएको छ । अवरुद्ध सडक खण्ड पुनः सञ्चालनमा आएसँगै स्थानीयहरूले राहतको महशुस गरेका छन् ।













