Logo
Logo

बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावना : मौसम विभाग


504
Shares

काठमाडौं । गोरखाको बुढीगण्डकीमा आईतवार बिहान आएको बाढी र पहिरोको मुख्य कारण केबल वर्षा मात्र नभई, पहिरोले खोला थुनिँदा (ड्यामिङ) सिर्जित विपद् हुनसक्ने प्रारम्भिक निष्कर्ष मौसम विज्ञान विभागले निकालेको छ । 

The current image has no alternative text. The file name is: budhigandki.jpg

विभागकी महानिर्देशक डा.अर्चना श्रेष्ठले पछिल्ला केही दिनमा रेकर्ड गरिएको वर्षाको मात्रा सामान्य रहे पनि त्यसले पहिरो निम्त्याउन पर्याप्त भुमिका खेलेको हुनसक्ने बताएकी हुन् । श्रेष्ठकाअनुसार गोरखाका विभिन्न स्टेसनहरू जस्तै बारपाक, नामरुङ र सेतीबेसीमा पछिल्लो केही दिनमा सामान्यदेखि केही मात्रामा वर्षा भएको छ । यद्यपि यही वर्षाले मात्रै ठूलो बाढी निम्त्याउने अवस्था नभएकाले यसमा पहिरोको संलग्नता रहेको विभागको प्रारम्भिक अध्ययनले देखाएको छ । उनले हालैको आँधीका कारण उच्च हिमाली क्षेत्रमा भएको हिमपातको प्रभावबारे पनि गम्भीरताका साथ अनुसन्धान भइरहेको जानकारी दिइन्। 

उनले भनिनन्, ‘गोरखाका विभिन्न वर्षामापन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा उल्लेख्य वर्षा भएको देखिँदैन । तर अक्टोबर ६ मा बारपाकमा २१ मिलिमिटर र अक्टोबर १० मा विभिन्न केन्द्रमा ५ देखि २४ मिलिमिटरसम्म वर्षा रेकर्ड भएको छ । अक्टोबर ७ मा घ्याच्चुङ र अक्टोबर ८-९ मा बारपाकमा पनि छोटो समयमा वर्षा भएको देखिन्छ । प्रारम्भिक विश्लेषणअनुसार पछिल्लो वर्षाले पहिरो निम्त्याएको र पहिरोका कारण खोला थुनिएर बाढी आएको हुन सक्ने सम्भावना छ । यद्यपि, उच्च हिमाली क्षेत्रमा हिमपात वा हिमनदीसम्बन्धी घटना भएको सम्भावनालाई पनि नकार्न सकिँदैन। यसबारे थप अध्ययन आवश्यक छ । हालको वर्षा पूर्वानुमानअनुसार उक्त क्षेत्रमा छिटपुट वर्षाको सम्भावना मात्र देखिएकाले ठूलो वर्षा प्रणाली सक्रिय रहेको देखिँदैन । तर बाढी प्रभावित र कमजोर भूभागमा निरन्तर निगरानी आवश्यक छ ।’

विभागले गोरखा क्षेत्रमा ठूलो मात्रामा वर्षा नभएको तर जमिन पहिले नै ‘फ्राजाइल’ (कमजोर) अवस्थामा रहेकाले सामान्य वर्षाले पनि जोखिम निम्त्याएको औँल्याएको छ । हाल उक्त क्षेत्रमा थप ठूलो वर्षाको पूर्वानुमान नरहे पनि भौगोलिक अवस्थाका कारण मनिटरिङ र शतर्कता आवश्यक रहेको विभागको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्