काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, बेलिब्रिज तथा पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा क्षति पुगेको छ ।

बाढीबाट ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना सबैभन्दा बढी प्रभावित भएको छ । टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरणसमेत बाढीले बगाएको छ ।
त्यस्तै, २४।५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ । दोभान खोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको उक्त आयोजनाको बेलिब्रिजसमेत बाढीले बगाएको छ ।
३०।९१ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । यारु हाइड्रो पावर प्रालिले प्रवर्द्धन गरेको आयोजनाको बेलिब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री तथा उपकरण बाढीले बगाएको छ । यस्तै, १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा क्षति पुगेको छ ।













