काठमाडौं । कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ । सङ्घीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउन सम्मेलन आयोजना गरिएको हो ।

कोसी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा ६ वटा प्रदेशका मुख्यमन्त्री सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सम्मेलनमा उपस्थित छैनन् । सुदूरपश्चिमबाट प्रदेशका प्रमुख सचिव सम्मेलनमा सहभागी भएका छन् ।
सम्मेलनमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाही सहभागी छन् । सम्मेलनमा प्रदेशहरूबाट प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्तासहितको टोली सहभागी भएका छन् ।
सम्मेलनबाट सङ्घीय सरकारसँग प्रदेशको अधिकार र वित्तीय स्रोतको बाँडफाँटसम्बन्धी विषयमा सामूहिक आवाज उठाउन साझा एजेन्डा तय गर्ने तयारी छ । कानुन निर्माणमा एकरूपता कायम गर्ने र प्रदेशहरूबीच असल अभ्यासको आदानप्रदान गर्ने विषयमा समेत छलफल हुनेछ । दुई दिने सम्मेलनले विराटनगर घोषणापत्र जारी गर्ने जनाइएको छ ।













