काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादल मडारिइरहेको बताएका छन् । यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी राप्रपा भएको उनको भनाइ छ ।

नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले अन्य राजनीतिक दलहरू असफल भइसकेको दाबी गरे ।
“नेपालको राजनीति एउटा अध्यारो सुरुङमा प्रवेश गरेको छ । अनिश्चय र अनिश्चितताका कालो बादलहरू आज हाम्रो शिरमाथि मडारिराखेको छ । सबै जस्तो राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइराखेका छन्,” लिङ्देनले भने, “यस्तो बेला देशलाई निकास दिने र एउटा दृष्टि दिने कुनै शक्ति र पार्टी नेपालमा जीवित छ भने त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी हो ।”
परम्परागत कार्यशैलीबाट पार्टी बलियो बनाउन नसकिने भन्दै उनले नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिन जरुरी रहेको बताए ।
अगामी महाधिवेशनमार्फत पार्टीलाई पुनर्जीवन दिनेगरी संगठनको पुनर्गठन गरेर जानुपर्ने उनले बताए । पार्टीलाई देशको नेतृत्व गर्नसक्ने शक्तिको रूपमा तयार पार्न पुनर्गठनको आवश्यकता रहेको उनको भनाइ छ ।
आसन्न महाधिवेशनलाई पार्टी पुनर्गठनको अवसरको उपमा उपयोग गर्नुपर्नेमा उनको जोड छ ।













