Logo
Logo

शोक र महँगीको मारमा दसैँ


0
Shares

हरेक वर्षझैँ यस वर्ष पनि नेपालीहरूको ठुलो पर्व दसैँ घर आँगनमा भित्रिइसकेको छ । दसैँ परिवारका सदस्यहरूको पुनर्मिलन हुने महत्त्वपूर्ण माध्यम बन्दै आएको छ ।

मान्यजनको हातबाट टिका र आर्शिवाद थाप्दै हर्षोल्लासका साथ दसैँ मनाउने धार्मिक र सांस्कृतिक मान्यताको अलावा देश, विदेशमा रहेका परिवारका सदस्यहरू घर फर्किने अवसरको रूपमा पनि दसैँलाई लिने गरेको छ । तर, प्राकृतिक विपद्का कारण यस वर्षको दसैँ उल्लासमय बन्न सकेको छैन । गत भदौ १० गते रसुवा भोटेकोशीको बाढीका कारण देश स्तब्ध छ ।

हजारौँ मानिसहरूलाई गुमाउनु परेको पीडाबाट सिङ्गो देश मुक्त हुन सकेको छैन । त्यसपछि पनि एकपछि अर्को विपद् र समस्या नै समस्याले गाँज्दा यस वर्ष शोकाकुल बनेको छ । कयौँ छोराछोरीको बुबाआमा छैनन् । कयौँ बुबाआमाको काख रित्तिएको छ । छोराछोरीहरू अझैसम्म बेपत्ता छन् । पारिवारिक वियोगमा तड्पिइरहेका परिवारजनका माझ पीडा लिएर भित्रिँदै छ दसैँ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार रसुवा भोटेकोशी बाढीबाट १ हजार ४५५ जनाको मृत्यु भयो । अझै पनि ५ हजार २८५ जना बेपत्ता छन् । रसुवाका ९ होल्डिङ सेन्टरमा ८४३ जना, नुवाकोटका ४ होल्डिङ सेन्टरमा १२१ जना र धादिङका ४ होल्डिङ सेन्टरमा १२१ जना व्यक्तिहरू अझै पनि आफ्नो अनिश्चित भविष्य बोकेर बसिरहेका छन् ।

परिवारका सदस्य गुमाउनुको पीडा एकातिर, अर्कोतिर आफू स्वयं के खाऊँ ? के लाऊँ ? र कता जाऊँ ? को अवस्थामा रहेको परिवारले कसरी दसैँ मान्ने ? कोसँग दसैँ मान्ने ? भन्ने भावुक अवस्था देखिएको छ । बेपत्ता परिवार अझै पनि आफ्नो मान्छे भेटिन्छन् कि भनेर आशा गरिरहेका छन् । ‘सास हुन्जेल आश’ भनेझैँ आफू जीवित रहुन्जेल र आफ्नो मान्छे नभेटुन्जेल उनीहरूले प्रतीक्षाको नजर तेर्साइरहेका छन् । यता, सरकारले खोज तथा उद्धारको काम बन्द गरिसकेको छ । बरु, बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने निर्णय गरेर सरकार आफ्नो दायित्वबाट उम्किएको छ ।

त्यस्तै, असोज २५ मा गोरखामा बुढीगण्डकी नदीमा आएको बाढीमा परि ५ जना सम्पर्कविहीन भएका छन् । ४५ घर पूर्ण क्षति र २७ घरमा आंशिक क्षति भएको छ । २ पक्की पुल, २ झोलुङ्गे पुल र ३ जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ । गोरखा चुमनुब्री गाउँपालिका पनि शोकमा डुबेको छ । गत साता देशभर परेको अविरल वर्षाले देशभरका विभिन्न स्थानको सडक सञ्जाल विच्छेद्य ग¥यो । दसैँमा आवतजावत गर्न समस्या देखिएको छ । पीडै पीडाको बिचमा दसैँ उसैगरी आयो जसरी हरेक वर्ष आउँछ । तर नेपालीको मन अरू वर्षहरूमा जस्तो रमाउन सकेको छैन । खुशी हुन सकेको छैन । निमेषभरमा आफ्ना आफन्तहरूलाई गुमाउनु र घरबार विहीन हुनुको पीडाले दसैँमा कुनै उत्साह भर्न सकेको छैन ।

अर्कोतर्फ महंगीले ढाड सेकेको छ । महङ्गीले आम श्रमिक वर्गलाई हातमुख जोड्नसमेत हम्मे हम्मे परेको छ । बिहान खाए बेलुकी के खाऊँ ? को अवस्थामा रहेकाहरूलाई चाडपर्व दसैँ हो कि दशा भनेजस्तो भएको छ । खाद्यान्नको भाउ बढेको छ । लत्ता कपडाको भाउ बढेको छ । अन्य सबै दैनिक उपभोग्य वस्तुहरूको भाउ बढेको हुनाले आम नेपाली दसैँको मुखमा आक्रान्त बनेका छन् । बढ्दो बजार भाउलाई नियन्त्रण गर्नमा सरकार असफल जस्तै देखिएको छ ।

देशभर ग्याँसको अभाव छ । दसैँ मनाउन जानेहरूले काठमाडौँ उपत्यका छोड्न थालिसकेका छन् । देशका मुख्य मुख्य शहरमा बसेकाहरु पनि आ आफ्नो गाउँ फर्किन सुरु गरिसकेका छन् । सडक सञ्जाललाई जोड्न सरकारले ध्यान दिनुपर्छ । सबै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनुपर्छ । बढी भाडा लिनेहरूलाई कारबाही गरेर सार्वजनिक यातायात प्रयोगलाई सहज बनाउन पनि सरकारले उत्तिकै ध्यान दिनु आवश्यक छ । त्यसमाथि दसैँमा हुने दुर्घटना रोक्न सरकारले विशेष पहल गर्नु पर्नेछ । दसैँमा घर जाने र फर्कन हतार हुने हुँदा यातायात क्षेत्र पनि अस्तव्यस्त हुने भएकोले ट्राफिक व्यवस्था चुस्त दुरुस्त हुनुपर्ने कुरामा सरकारको ध्यान जानु पर्छ ।

अन्त्यमा, देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरू प्रति विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया दिनुहोस्