काठमाडौं । भारतको साकेत अदालतले सन् २०१८ को मानहानि मुद्दामा चर्चित युट्युबर ध्रुव राठीविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरेको छ । विकास सांक्रित्यायनले दायर गरेको उजुरीका आधारमा अदालतले शनिवार यस्तो आदेश दिएको हो ।

उजुरीकर्ताले राठीको ‘भाजपा आईटी सेल पार्ट-२’ शीर्षकको भिडियोमा आफू विरुद्ध झूटा तथा मानहानिकारक आरोप लगाइएको दाबी गरेका छन् ।
मुद्दाको सुनुवाइ गरिरहेका न्यायिक मजिस्ट्रेट प्रथम श्रेणीका राहुल जैनले जमानती पक्राउ पुर्जी जारी गर्ने आदेश दिएका हुन् । अदालतलाई राठीका नाममा सूचना पठाइए पनि उनको ठेगानामा पुग्दा परिसर बन्द रहेको जानकारी गराइएको थियो ।
यसअघि अदालतले यसै साता राठीका नाममा नयाँ समन जारी गरेको थियो । उजुरीकर्ताले मुद्दाको सुनुवाइ मिति अगाडि सार्न माग गरेका थिए । यसअघि सुनुवाइ नोभेम्बर २० का लागि तोकिएको थियो ।
उजुरीकर्ताका अनुसार राठी प्रायः विदेशमा बस्ने भएकाले विगत केही वर्षदेखि अदालतको समन पुर्याउन ढिलाइ हुँदै आएको थियो । उनले राठी अहिले ‘सीजेपी’को प्रदर्शनका सिलसिलामा भारतमा रहेको दाबी गर्दै छिटो समन जारी गर्न माग गरेका थिए । यस मुद्दाको अर्को सुनुवाइ अक्टोबर ३१ मा हुने तय भएको छ । केही दिनअघि आन्दोलनका लागि भारत आएका राठी भने हाल भारत छोडेर लन्डन पुगेका छन् ।














