हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, बाँदरेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

आइतबार (कात्तिक १) दिउँसो करिब १२ः३० बजे काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको यात्रुवाहक माइक्रोबस सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतिर नालामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी रौतहटको दुर्गाभगवती गाउँपालिका–१ का ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन् । उनको मुखमा चोट लागेको र थप उपचारका निम्ति चितवनस्थित सीएमसी अस्पताल ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही स्थानका ३२ वर्षीय राजेश साह, ३४ वर्षीय सर्फे आलम, २६ वर्षीया चन्दाकुमारी साह, २३ वर्षीया शिवाकुमारी साह, पाँच वर्षीय आर्यन साह घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ । हरि साहका नातिनी शान्तिकुमारी र नाति शिवान्स भने सामान्य अवस्थामा रहेका प्रहरीले जनाएको छ ।
यस्तै, रौतहटकै चन्द्रपुर नगरपालिका–११ की २४ वर्षीया सविताकुमारी चौधरी, यमुनामाई गाउँपालिका–४ का १९ वर्षीय राहुल ठाकुर र धमनीमाई गाउँपालिका–४ का १६ वर्षीय विजयकुमार ठाकुर घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका निम्ति हेटौँडा अस्पताल पठाइएको थियो । गम्भीर घाइते हरि साहलाई चितवन रिफर गरिएपछि उनका छोरीहरू चन्दाकुमारी र शिवाकुमारी तथा नाति आर्यन र नातिनी शान्तिकुमारी पनि थप उपचारका निम्ति सीएमसी गएका प्रहरीले जनाएको छ ।
दुर्घटनापछि गाडीका चालक फरार रहेका र उनको खोजी भइरहेको छ ।
















