काठमाडौं । नेपालीको महान् चाड दसैँको मुख्य दिन आज (कात्तिक ४) देशभर टीका तथा जमरा ग्रहण गरेपछि लिंगेपिङ खेल्ने परम्पराले निरन्तरता पाएको छ ।

यस दिन ‘धर्ती छोड्नुपर्छ’ भन्ने प्राचीन धार्मिक र सांस्कृतिक मान्यतालाई आत्मसात् गर्दै सर्वसाधारणले सार्वजनिक स्थल र गाउँघरमा सामूहिक रूपमा पिङ खेलेर खुसी साटिरहेका छन् । दसैँका अवसरमा लिंगेपिङ खेल्ने संस्कृति नेपाली जनजीवनको अभिन्न अंग मानिन्छ ।
‘दसैँ टीकाको दिन एकपटक भए पनि धर्ती छोड्नुपर्छ’ भन्ने पुरानो कथनलाई मानिसले आजको दिनमा पनि उत्तिकै श्रद्धाका साथ पछ्याउने गरेका छन् । विशेष गरी गाउँघरमा बाँसका लामा लिंगा गाडेर बनाइएका पिङहरूमा आज टीका र जमरा लगाइसकेपछि मानिसको घुइँचो लाग्ने गर्छ ।
आधुनिकता र प्रविधिको विकाससँगै सहरिया जीवनशैलीमा यस्ता परम्परागत पिङहरू केही लोप हुँदै गएको छ । तर, सांस्कृतिक संरक्षणका निम्ति विभिन्न स्थानमा पिङहरू निर्माण गरिएका छन् । लिंगेपिङ मनोरञ्जनको साधन मात्र नभई सामाजिक मेलमिलाप र आपसी सद्भाव बढाउने माध्यम पनि बनेको छ ।
दसैँको समयमा गरिने यस्ता क्रियाकलापले सकारात्मक ऊर्जाको सञ्चार गर्ने र वर्षभरिको थकान मेट्ने विश्वास गरिन्छ । विशेष गरी युवापुस्तादेखि ज्येष्ठ नागरिकसम्मका मानिस पिङ खेल्न उत्साहित देखिन्छन् ।
टीका ग्रहण गरेपछि मान्यजनको आशीर्वाद र पिङको मजा लिँदै नेपालीले आफ्नो परम्परागत र सांस्कृतिक पहिचानलाई जोगाइरहेका छन् ।















