Logo
Logo

बाढी प्रभावितहरूको दशैँ होल्डिङ सेन्टरमै बित्यो


0
Shares

काठमाडौं । देशभर बडादशैँ हर्षोल्लासका साथ मनाइरहँदा भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि भने यस वर्षको दशैँ पीडा, अभाव र अनिश्चितताबीच बितिरहेको छ ।

गएको भदौ १० गते आएको बाढीले घरबास उजाड्यो, कतिपय परिवारले आफन्त गुमाए भने केहीका आफन्त अझै बेपत्ता छन् । विपत्तिले दिएको घाउ निको नहुँदै चाडपर्व आएको छ । काठमाण्डौ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका बाढीपीडितका लागि दशैँको रौनकभन्दा आफ्नो भविष्यको चिन्ता ठूलो बनेको छ ।

काठमाण्डौको स्वयम्भू क्षेत्रमा चार सयभन्दा बढी बाढीपीडित आश्रय लिएर बसिरहेका छन् । सुन्दरीजलको बीपी चोकस्थित होल्डिङ सेन्टरमा पनि ६८ घरधुरी बाढीपीडित बसिरहेका छन् । आफ्नो घरमा परिवार र आफन्तसँग बसेर दशैँ मनाउने चाहना भए पनि परिस्थितिले उनीहरूलाई अस्थायी आश्रय स्थलमै सीमित बनाएको छ । बालबालिका नयाँ लुगा लगाएर रमाइरहेका छन् भने परिवारका सदस्यहरू मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिरहेका छन् । तर, बाढीपीडित परिवारका लागि भने यस वर्षको दशैँमा खुसी साट्नेभन्दा विगतको पीडा सम्झिने अवस्था छ ।

बाढीमा आफन्त गुमाएका परिवारका लागि चाडपर्वले झन् दुःख सम्झाएको छ । कतिपय परिवारका लागि अब कहाँ बस्ने, कसरी जीविकोपार्जन गर्ने र बालबालिकाको पढाइ कसरी अघि बढाउने भन्ने प्रश्नसमेत चुनौती बनेको छ । अस्थायी आश्रय स्थलमा दिन बिताइरहेका उनीहरूका लागि दशैँको खुसीभन्दा दैनिक आवश्यकताको जोहो गर्नु नै मुस्किल छ ।

यसैबीच अव बिस्तारै चिसो बढ्दै जाने हुँदा होल्डिङ सेन्टरमा बसिरहेका बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य प्रभावित परिवार चिन्तामा छन् । न्यानो कपडा, पर्याप्त ओढ्ने–ओछ्याउने र सुरक्षित बसोबासको व्यवस्था नहुँदा जाडोयाम थप कष्टकर बन्न सक्ने जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्