काठमाडौं । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि प्रारम्भ भएको नेपालीहरूको महान् चाड बडादसैँ आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजाआराधना गरी विधिवत् रूपमा समापन गरिँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार आजको दिन साँझ महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ । ‘को जाग्रत’ अर्थात्’ को जागेको छ ?’ भन्ने अर्थ बोकेको यस पर्वमा आजको रात जो व्यक्ति जागा रही भगवतीको आराधना गर्छ, उसैलाई धनधान्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ । घटस्थापनाका दिन दसैँघर वा पूजाकोठामा स्थापना गरिएको कलश, जमरा र देवीको प्रतिमालाई आज विधिपूर्वक विसर्जन गरिन्छ ।
आजका दिनसम्म मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने क्रम पनि औपचारिक रूपमा सकिन्छ । कतिपय समुदायमा कोजाग्रत पूर्णिमाकै दिन साँझ कौडा वा पासा खेल्ने प्रचलन समेत रहिआएको छ । यसै अवसरमा आजैदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने कार्यको पनि शुभारम्भ हुन्छ । घरको आँगन वा देवालयमा बाँसको अग्लो लिङ्गो ठड्याएर त्यसमा दियो बाल्ने परम्परा छ, जसलाई पितृहरूको मार्गदर्शन तथा दिवङ्गत आत्माको शान्तिका लागि बालिएको मानिन्छ ।
विजयादशमीपछिको पूर्णिमासँगै बडादसैँको उल्लास सकिए पनि जनजीवन अब नेपालीहरूको दोस्रो ठूलो चाड तिहारतर्फ उन्मुख भएको छ । कोजाग्रत पूर्णिमाको समापनसँगै मुलुकभर तिहारको पूर्व तयारी र किनमेलको चहलपहल सुरु भएको छ ।















