
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जागरण अभियानमार्फत स्थानीय तह निर्वाचनको तयारी गर्ने भएको छ ।
शनिबारदेखि देशभर दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको नेकपाको अभियान मंसिर २५ गते समापन हुनेछ ।
अभियानको उद्देश्य सरकारका राष्ट्रहितविपरीत र जनविरोधी गतिविधि तथा प्रतिबद्धताविपरीतका कामबारे जनतालाई सुसूचित गराउनु रहेको नेता वर्षमान पुनले जानकारी दिए ।
‘गत फागुन २१ गते राष्ट्रिय स्वतन्त्र पार्टीले जुन उत्साह र प्रतिबद्धतासहित जनमत प्राप्त गरेको थियो, त्यसपछि सरकार बनेसँगै जनतामा उत्साह थियो । खासगरी युवाहरूमा नयाँ खालको जागरण थियो’, उनले भने, ‘तर, सात महिनाको अवधिमा त्यो उत्साह विस्तारै सेलाउँदै गएको छ । जनतालाई झुक्याइयो भन्ने खालको वितृष्णा पैदा भएको छ ।’
स्थानीय तह निर्वाचनको तयारीमा देश अघि बढिरहेको उल्लेख गर्दै नेता पुनले पार्टीले राष्ट्रिय जागरण अभियानमार्फत जनतामाझ पुग्ने र निर्वाचनको तयारी गर्ने बताए ।















