
काठमाडौं । दसैंपछि आज (आइतबार) सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य समायोजन गरेको हो ।
जसमा सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँ घटेको छ । दसैंपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा दसैंपछि सुनको मूल्य उच्च दरले घटेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि गत सोमबार २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सोमबारयता आजै नयाँ मूल्य तय भएको हो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला २३० रुपैयाँ घटेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ९५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।















