Logo
Logo

ब्राजिलको राष्ट्रपतिमा पुनः निर्वाचित भए लुला


567
Shares

काठमाडौं । ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा पुनः निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै चौथो कार्यकालका लागि जित हासिल गरेका हुन् । निर्वाचन अधिकारीहरूले मतगणना सम्पन्न भएपछि लुलाको जित पुष्टि गरेका छन् । लुलाले दोस्रो चरणको मतदानमा ५१ प्रतिशत भन्दा बढी मत पाएर विजयी भएका हुन् । 

The current image has no alternative text. The file name is: brizil.jpg

८० वर्षीय लुलाले ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको ब्राजिलको नेतृत्वमा निरन्तरता पाएका छन् । उनी यसअघि सन् २००३ देखि २०११ सम्म दुई कार्यकाल राष्ट्रपति बनेका थिए । सन् २०२३ मा पुनः सत्तामा फर्किएका लुलाले यसपटक अर्को कार्यकालका लागि जनमत प्राप्त गरेका हुन् । 

निर्वाचनको पहिलो चरणमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले ४७.०३ प्रतिशत मत प्राप्त गर्दै अग्रता लिएका थिए । लुलाले भने ४५.१६ प्रतिशत मत पाएका थिए । कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आइतबार दोस्रो चरणको निर्वाचन भएको थियो । 

लुलाको जितलाई ब्राजिलको राजनीतिमा वामपन्थी नेतृत्वको निरन्तरताका रूपमा हेरिएको छ । निर्वाचनमा सामाजिक सुरक्षा, महँगी, रोजगारी, भ्रष्टाचार नियन्त्रण र अर्थनीतिजस्ता विषय प्रमुख बनेका थिए । लुलाका समर्थकले उनको सामाजिक कल्याणसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिएका थिए भने फ्लाभियोका समर्थकले परिवर्तन र सुशासनको माग अघि सारेका थिए । 

लुलाको पुनर्निर्वाचनसँगै ब्राजिलको आन्तरिक राजनीति र विदेश नीतिमा उनको नेतृत्वले निरन्तरता पाउने भएको छ । यद्यपि, राजनीतिक रूपमा विभाजित देशमा नयाँ कार्यकालमा नीति कार्यान्वयन गर्नु उनका लागि चुनौतीपूर्ण हुने देखिएको छ । संसद्मा दक्षिणपन्थी शक्तिको प्रभाव रहेकाले सरकारले आफ्ना योजना अघि बढाउन विभिन्न राजनीतिक पक्षसँग सहकार्य गर्नुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्