Logo
Logo

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको आपत्ति


252
Shares

काठमाडौं । पूर्वपराष्ट्रमन्त्री समेत रहेका नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नयाँदिल्लीमा आयोजित एनडीटीभी वल्र्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको बताएका थिए ।

वाग्लेले भनेका थिए, ‘नेपालमा कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो । तर, त्यो युग अब सकिएको छ ।’ उनले अर्थमन्त्री वाग्लेलाई कुन युगको कुरा गरेको ? भन्दै प्रश्न सोधेका छन् ।

ज्ञवालीले वाग्लेको यो अभिव्यक्ति गैर–कूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं हितमा आँच पु¥याउने खालको बताएको टिप्पणी गरेका छन् । नेपालमा कहिल्यै ‘भारत विरोधी राष्ट्रवादको युग’ नभएको उनको जवाफ छ ।

यस्तो छ ज्ञवालीको भनाइ–
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ दिल्लीमा ‘नेपालमा भारत विरोधी राष्ट्रवादको युग सकियो’ भनेर दिएको अभिव्यक्ति गैर–कूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं हितमा आँच पु¥याउने खालको छ ।
विदेशी भूमि कुनै पनि सरकारी पदाधिकारीका लागि आफ्नो मुलुकको राजनीतिका आन्तरिक मतभिन्नताहरूबारे बोल्ने थलो होइन ।
नेपालमा कहिल्यै ‘भारत विरोधी राष्ट्रवादको युग’ थिएन । नेपालले जहिल्यै सार्वभौम समानता र पारस्परिक हित एवं सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध चाह्यो र आज पनि त्यही चाहन्छ । कुनै व्यक्ति या समूह विशेषले राख्ने दृष्टिकोण आफैमा कुनै ‘युग’ होइन । त्यसले समग्र राष्ट्रको प्रतिनिधित्व पनि गर्दैन ।
अर्थमन्त्रीले कुन ‘युग’ को कुरा गर्नुभएको हो ?
नेपाल र भारतका बिचमा कतिपय समस्या छन् । सीमा समस्या, सुरक्षा छाताको आभास दिने १९५० को सम्धीका कतिपय प्रावधान, अनुदार वाणिज्य नीतिका कारण नेपाली उत्पादनहरूले भारतीय बजारमा प्रवेश पाउन व्यहोर्नु पर्ने झन्झट, बढ्दो व्यापार घाटा, सीमामा बनाइएका एकतर्फी बाँधका कारण बर्सेनि हुने नेपाली भूमि डुबान, नेपालले स्वाभाविकै रूपमा पाउनु पर्ने वैकल्पिक हवाई प्रवेश मार्गमा गरिएको आनाकानी आदि ।

घनिष्ट छिमेकी मित्रसँग यी विषयमा खुलस्त कुरा हुनु आवश्यक छ । समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन ।
यी विषयहरू उठाउनु कुनै देश विशेषको विरोध होइन । यो नेपालको राष्ट्रिय हितको प्रश्न हो । हरेक सरकारको दायित्व यस राष्ट्रिय हितको रक्षा गर्नु हो ।
समाधानको एक मात्र बाटो यी विषयमा बलियो राष्ट्रिय एकता र सहमति निर्माण हो । त्यसको बलमा हुने गम्भीर कूटनीतिक पहल हो ।
यथार्थलाई ढाकछोप गरेर लिइने तुष्टिकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमानलाई बलियो बनाउँदैन, बरु तिनमा आँच पु¥याउँछ ।

प्रतिक्रिया दिनुहोस्