Logo
Logo

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान


504
Shares

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । 

The current image has no alternative text. The file name is: supreme-court-of-nepal1542214610-1.jpg

समितिले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित व्यक्तिहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र प्रमाणसहित १० (दश) दिनभित्र उजुरी दिन अनुरोध गरेको हो ।

असोज २० गते बसेको न्याय परिषद् बैठकले पुनरावेदन अदालतका न्यायाधीशहरू डा.रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिको असोज २६ गते बसेको बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट सुरु हुने गरी १० दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको थियो । त्यही निर्णय बमोजिम समितिले सोमबार सूचना जारी गरेर उजुरी आह्वान गरेको हो । 

समितिले सूचनामा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा स्पष्ट आधार, सबुत प्रमाणसहित शिष्ट र मर्यादित भाषामा उजुरी दिन आग्रह गरेको हो । समितिले सूचनादाताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने तर, उजुरीकर्ताले चाहेमा उसको पहिचान पूर्ण रूपमा गोप्य राखिने जनाएको छ ।

प्राप्त उजुरीहरूमाथि छानबिन गरी समितिले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउनेछ । सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिद्वारा न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको  छ । 

प्रतिक्रिया दिनुहोस्