Logo
Logo

बङ्गालको खाडीमा बन्यो शक्तिशाली चक्रवात ‘अर्नब’, नेपालमा कस्तो प्रभाव पार्ला ?


126
Shares

काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको गहिरो न्यून चापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ।

भारतीय मौसम विभागका अनुसार नेपाली समयअनुसार आज बिहान साढे ५ बजे यो प्रणाली चक्रवातको रूपमा विकसित भएको हो, जसको नाम ‘अर्नब’ राखिएको छ।

विभागको अनुमान अनुसार यो चक्रवात पर्सि बुधवार बिहान भारतको बापटला र विशाखापट्टनमबीच आन्ध्र प्रदेश तथा यानम तट हुँदै अगाडि बढ्नेछ। सो समयमा हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर र झोक्कासहित १४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने देखिएको छ।

यस चक्रवातका कारण आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा मुसलधारे वर्षा हुने पूर्वानुमान गरिएको छ भने विभागले आन्ध्र प्रदेशका ६ वटा जिल्लामा अत्यधिक वर्षाको चेतावनी समेत जारी गरेको छ।

जलवायु तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायका अनुसार यो चक्रवातको प्रभाव त्यहाँका अन्य साना वर्षा प्रणालीसँग मिसिँदै नेपालतर्फ अघि बढ्ने सम्भावना रहेको छ।

आगामी बुधवार रातिदेखि नै नेपालमा यसको प्रभाव सुरु भई देशका विभिन्न स्थानमा सामान्यदेखि मध्यम वर्षा हुनेछ भने बिहीवारदेखि देशैभर वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। विशेषगरी बिहीवार दिउँसोदेखि शुक्रवार रातिसम्म कोशी, मधेश, बागमती, गण्डकी र पूर्वी लुम्बिनी प्रदेशमा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ।

यी क्षेत्रका केही भूभागमा मुसलधारे वर्षा र हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्नेछ भने शनिवारदेखि यो प्रणालीको असर क्रमिक रूपमा कमजोर हुँदै जानेछ।

मौसम तथा कृषि विज्ञहरूले सम्भावित क्षतिबाट बच्न पूर्वसावधानी अपनाउन आग्रह गरेका छन्। कृषकहरूलाई पाकेको धानबाली भोलि मङ्गलवार बेलुकासम्म थन्काइसक्न र बुधवारदेखि शनिवारसम्म धान नकाट्न विशेष सुझाव दिइएको छ।

त्यसैगरी, बुधवारदेखि शनिवारसम्म हिमाली क्षेत्रको पदयात्रामा नजान तथा बिहीवारदेखि शनिवारसम्म अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न र गर्नैपरेमा उच्च सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्