
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को बहुमत कार्यसमितिको बैठकले अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सातदोबाटोस्थित एन्फा कार्यालयमा बसेको बैठकले सङ्घको आर्थिक कारोबार तथा व्यवस्थापनसँग जोडिएका विषयहरूमाथि प्रश्न उठाउँदै अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्रनाथ जोशी र लेखापाल दीपक पाण्डेसँग जवाफ माग्ने निर्णय गरेको हो ।
एन्फा नेतृत्वविरुद्ध आर्थिक अनियमितता तथा खेल मिलेमतोको आरोपमा अदालतमा मुद्दा विचाराधीन छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले गत असोज २३ गते चारै जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो । उक्त मुद्दामा जिल्ला अदालत ललितपुरले अध्यक्ष नेम्बाङ र महासचिव राईलाई जनही ५ लाख रुपैयाँ तथा कोषाध्यक्ष जोशीलाई १५ लाख र लेखापाल पाण्डेलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
सीआईबीका अनुसार, सन् २०२४ मा नेपाल र बहराइनबिच भएको विश्वकप छनोट खेलको व्यवस्थापन, खेल सामग्री खरिद र टिकट बिक्रीमा गम्भीर अनियमितता भएको आशङ्का गरिएको छ । विशेष गरी बहराइनसँगको खेलको टिकट बिक्रीबाट आउनुपर्ने २० हजार अमेरिकी डलर एन्फाको संस्थागत खातामा जम्मा नभएको, खेल सामग्री खरिदमा प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया पालना नगरिएको र फिफाबाट प्राप्त ३३० वटा विश्वकप टिकट बिक्रीमा अपारदर्शिता देखिएको विषयहरू अनुसन्धानको दायरामा परेका छन् ।
एन्फाभित्रको आन्तरिक विवाद र आर्थिक अनियमितताको छानबिनका कारण नेपाली फुटबल अन्तर्राष्ट्रियस्तरमै सङ्कटमा परेको छ । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले गत जुन २४ देखि एन्फालाई निलम्बन गरिसकेको छ, जसका कारण नेपाली टोलीको अन्तर्राष्ट्रिय सहभागिता प्रभावित बनेको छ । यस्तो परिस्थितिमा बहुमत कार्यसमितिले नेतृत्वसँग स्पष्टीकरण माग्ने कदमले एन्फाको आन्तरिक विवादलाई अझै उत्कर्षमा पु¥याउने सङ्केत गरेको छ ।
















