Logo
Logo

पत्रकार पक्राउविरुद्ध रास्वपासहितका ठूला दलको एकस्वर


0
Shares

काठमाडौं । पत्रकारहरूलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सहितका ठूला दलले विरोध गरेका छन् ।

The current image has no alternative text. The file name is: raswopa-raswapa-office.jpg

रास्वपाका प्रवक्ता जगदीश खरेलले पत्रकारलाई समाचारकै विषयमा पक्राउ गर्ने वा सोधपुछका नाममा धरपकड गर्ने कार्य संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता विपरीत रहेको बताएका छन् ।

रास्वपा सबैभन्दा ठूलो दल हो । दोस्रो ठूलो दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सञ्चारगृहहरूमाथिको हस्तक्षेप र निगरानी तुरुन्त बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारहरू गिरफ्तार गर्ने दुष्कार्य सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो’, उनले फेसबुकमा लेखेका छन्, ‘सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजी–नीति गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य हो ।’

तेस्रो ठूलो दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिनापूर्जी नागरिकलाई पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास भएको बताएका छन् । बिनापूर्जी पक्राउ गर्नु नागरिकमाथि त्रास फैलाउने सर्वसत्तावादी अभ्यास हो,’ पोखरेलले लेखेका छन्, ‘शक्ति पृथकीकरणको सिद्धान्तविपरीत राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रणमा लिन खोज्नु फासीवादको स्पष्ट संकेत हो ।’

चौथो ठूलो दल नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले पत्रिकाका कार्यालयहरूमा सादा पोशाकमा गरिएको प्रहरीको छापा निन्दनीय र स्वतन्त्र पत्रकारितामाथिको राज्य आतंक भएको बताएका छन् ।

‘सरकार र अन्य सराकारी निकायका उच्च पदस्थका काला कर्तूत बाहिर ल्याएका कारण यो राज्य–आतंक सिर्जना गरिएकोमा नेपाली नागरिकमा कुनै भ्रम छैन’, उनले भनेका छन्, ‘हामी तत्काल गिरफ्तार पत्रकारको विना शर्त रिहाइको माग गर्दै सन्चारमाध्यम माथिको राज्य–आतंक बन्द गर्न खबरदारी गर्दछौं ।’

शुक्रबार प्रहरीले पत्रकारहरू विश्वमणी सुवेदी, शोभराज बराल र धीरज बस्नेतलाई समाचार कक्षमै प्रवेश गरेर नियन्त्रणमा लिएको थियो । यस्तै, अर्का पत्रकारको खोजी गर्दै प्रहरी टोली नयाँ पत्रिकाको कार्यालय पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्