Logo
Logo

भारतद्वारा नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण


252
Shares

काठमाडौं । भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) लाई सुदृढ पार्ने उद्देश्यले शुक्रबार राति नयाँ पुस्ताको नेभिगेसन उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार ‘एनभीएस–०३’ नामक उपग्रहलाई जीएसएलभी-एफ१८ रकेटमार्फत आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार शुक्रबार राति ११ः५१ बजे प्रक्षेपण गरिएको हो ।

इसरोले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “जीएसएलभी-एफ१८ ले एनभीएस-०३ लाई सफलतापूर्वक निर्धारित कक्षमा स्थापित गरेको छ ।”

भारतका विज्ञान तथा प्रविधिमन्त्री जितेन्द्र सिंहले यस सफलताका लागि इसरोका वैज्ञानिकहरूलाई बधाई दिँदै यसले अन्तरिक्ष प्रविधिमा भारतको बढ्दो क्षमता र स्वदेशी नेभिगेसन प्रणालीलाई सुदृढ पार्ने प्रतिबद्धता झल्काएको बताएका छन् । इसरोका अनुसार जीएसएलभी-एफ१८ भारतको भूस्थिर उपग्रह प्रक्षेपण यान (जीएसएलभी) को २०औँ उडान हो ।

नयाँ पुस्ताको नेभिगेसन उपग्रह शृङ्खलाअन्तर्गतको तेस्रो उपग्रह एनभीएस-०३ ले भारतीय क्षेत्रीय नेभिगेसन उपग्रह प्रणाली (आईआरएनएसएस) अन्तर्गत प्रदान गरिने नेभिगेसन सेवाको निरन्तरता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्