Logo
Logo

लाल क्षितिज


प्रकाशचन्द्र खतिवडा

315
Shares

म त्यो आगो हूँ
जसले डढाइ दिन्छ
यथास्थितिको ढोका
म त्यो चेतना हूँ
जसले जगाइ दिन्छ
मौन जिन्दगीको कथा
थुप्रै जिन्दगीका अनुहारमा
कोरिएका होलान विपन्नताका धर्सा
म तिनै धर्सा सुम्सुम्याएर
जीवनको कथा लेख्न सकूँ
फाटेका होलान मन
फाटेका मन सिलाएर
बल्झने घाउ निको बनाउँन सकूँ ।

हाम्रो अस्तित्वको रङ पोतिएर
अनन्त सन्नाटा छाए पछि
मन भित्रको मान्छे रुन थाल्छ
रुनु पीडाले छटपटिनु मात्रै हैन
मनका द्वेषहरु बगाएर
यात्रा थाल्नु हो नयाँ जिन्दगीको
पाइलाहरु शिखरको उँचाइ नाप्छन
सामुद्रिक दूरी कुल्चदै
ऐतिहासिक किल्लामा विजयको झण्डा गाड्नलाई
मेरो अदम्य उत्साह देखेर
हिमाल गर्वले हाँसि दिन्छे
म पुलकित बन्छु जीवनको नयाँ रङ भेटिए पछि ।

नदीहरु बगि रहन्छन
जसरी बग्छ जिन्दगी
म ढुङ्गा खोपेर
संघर्षको कालजयी गीत लेख्छु
तिमी प्रेमको भ्रम छरेर
तिरस्कारका वाण हान्छौ
विश्वासको ऐना तिमीलाई गिज्याउँछ
तिमी इमान बेचेर
मानवतावादको उपहास गर्छौ
मेरो आँखाबाट बग्ने प्रत्येक थोपा

आँसुले तिमीलाई सराप्छ
तिमीलाई के थाहा आँसुको शक्ति ?
आँसु अग्नी ज्वाला समान दन्कन सक्छ ।

मान्छेहरु प्रेमील भै दिए
संघर्षको अन्त्य हुन्थ्यो होला
म सोच्ने गर्छु
के म संघर्षको मैदानबाट फर्कन सक्छु ?
असंम्भव
मैले जीवन उत्सर्ग गर्ने कशम खाएको छु
सपनाका चाङहरु थुप्रिएका छन
बाँडनै छ सपना अवोध नानीहरुलाई
जसले भविष्यको बाटो बनाउन सक्छन ।

यदि मैले मृत्यु रोजें भनें
रुने छैनन मेरी आमा
गर्वले फुलाउँनेछिन छाती
समर्पण गर्ने छिन प्रेम
सपुतको साहादत प्रति
र हेर्ने छिन विस्फारित नेत्रले
उज्यालिदै गरेको लाल क्षितिज ।

सुन्दरहरैंचा –६, दुलारी, मोरङ

प्रतिक्रिया दिनुहोस्