काठमाडौं । डोल्पाको डोल्पो बुद्व गाउँपालिकाबाट शे फोक्सुण्डो ताल तर्फ जाँदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन् । शे-फोक्सुण्डो गाउँपालिका-४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रबाट उनीहरू सम्पर्कविहीन भएका हुन् ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएपछि उनीहरू फसेको हुन सक्ने अनुमान गरिएको छ । स्थानीयवासीले हिमपातका कारण हिमाल पार गर्न कठिन हुने भन्दै सचेत गराउँदा समेत पर्यटकहरू जबर्जस्ती उक्त क्षेत्रतर्फ गएका थिए ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पर्यटकहरू धोबाट फोक्सुन्डो तालतर्फ फर्किने क्रममा हिउँमा फसेका हुन् । स्थानीयवासीले हिमाल पार गर्न समस्या हुने जानकारी गराउँदा-गराउँदै पनि उनीहरू त्यसतर्फ गएको र अहिले सम्पर्कविहीन भएको उनले बताइन् ।
सञ्चार सम्पर्क नहुने भएकाले पर्यटकहरूको पछिल्लो अवस्थाबारे जानकारी लिन कठिन भइरहेको हो । जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार उपल्लो डोल्पामा २४४ जना पर्यटक पुगेका छन् । तीमध्ये १४९ जना नेपाली, ४४ जना दक्षिण एसियाका र ५१ जना अन्य विदेशी नागरिक रहेका छन् ।
प्रतिकूल मौसमका कारण प्रशासनले पर्यटकहरूलाई जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।प्रहरीले सम्पर्कविहीन भएका ६ जना भारतीय पर्यटकको खोजी तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरेको छ ।
अत्यधिक हिमपात र प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा खोजी तथा उद्धार गर्न कठिनाइ भइरहेको छ । फोन सम्पर्क नहुने क्षेत्र र बाक्लो हिउँका कारण पर्यटकहरू कुन अवस्थामा छन् भन्ने यकिन हुन सकेको छैन ।















