विदेशी खेलाडी किन्न फ्रेन्चाइजले लाखौँ खर्चिए । विश्व क्रिकेटका नाम चलेका स्टारलाई एनपीएलमा भित्र्याइयो । उनीहरूकै नाममा लिगको ब्राण्ड चम्काउने प्रचार गरियो । तर, मैदानमा खेल उल्टो भइरहेको छ । विदेशी खेलाडी हेर्न दर्शक आएका छन्, तर खेलको हिरो नेपाली खेलाडी बनिरहेका छन् । सुरुवाती ६ खेलमा ६ वटै प्लेयर अफ द म्याच नेपाली ! विदेशीको नाम ठूलो, तर मैदानमा नेपालीकै काम ठूलो !

यतिबेला कीर्तिपुरस्थित टीयू मैदानमा नेपाली क्रिकेटको महाकुम्भ चलिरहेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को चर्चा नेपालमा मात्रै होइन, विदेशमा पनि उत्तिकै छ । विश्व क्रिकेटका चर्चित स्टारहरू एनपीएल खेल्न नेपाल आएका छन् । उनीहरूलाई भित्र्याउन फ्रेन्चाइज टोलीले लाखौँ रुपैयाँ खर्चिएका छन् । विदेशी खेलाडीको नाम र स्टारडम बेचेर एनपीएलको ब्राण्ड चम्काउने होड पनि छ । तर, मैदानमा दृश्य भने ठ्याक्कै उल्टो छ ।
विदेशी खेलाडीको मूल्य लाखौँमा छ, तर खेलको हिरो नेपाली खेलाडी बनिरहेका छन् । दर्शक विदेशी स्टार हेर्न मैदान पुगेका छन्, तर खेल जिताउने जिम्मा नेपाली खेलाडीले उठाइरहेका छन् । विदेशीको नाममा चर्चा बटुल्ने एनपीएलमा नेपाली खेलाडीले प्रदर्शनबाटै जवाफ दिइरहेका छन् । यसको प्रमाण हो– सुरुवाती ६ खेल र ६ वटै खेलका प्लेयर अफ द म्याच नेपाली खेलाडी ! अर्थात्, विदेशी खेलाडीको नाममा लिगको ब्राण्ड बढाउने प्रयास भइरहँदा मैदानमा नेपाली खेलाडीले आफ्नो क्षमता देखाइरहेका छन् । विदेशी खेलाडीको चमकभन्दा नेपाली खेलाडीको प्रदर्शन भारी परेको छ ।
यसअघि एनपीएलका सुरुवाती खेलमा विदेशी खेलाडी नै हाबी हुने गरेका थिए । दोस्रो संस्करणको सुरुवाती ८ खेलमा एक जना मात्रै नेपाली खेलाडीले प्लेयर अफ द म्याच जितेका थिए । तर, यसपटक त्यो अवस्था फेरिएको छ । सुरुवाती ६ खेलमै ६ नेपाली खेलाडीले अवार्ड जितेका छन् । त्यो पनि कुनै संयोग मात्रै होइन । कसैले बलिङबाट विदेशी ब्याटरको स्टम्प उडाएका छन् । कसैले ब्याटिङबाट टिमलाई जिताएका छन् । अनि कसैले त ब्याट र बल दुवैबाट मैदानमा तहल्का मच्चाएका छन् ।
विशेषगरी युवा खेलाडीले आफूलाई प्रमाणित गरिरहेका छन् । राष्ट्रिय टिमका कप्तान दीपेन्द्रसिंह ऐरीदेखि अनुभवी सोमपाल कामीसम्मले आफ्नो प्रभाव देखाएका छन् । अझ १७ वर्षीय राहुल यादवको प्रदर्शनले त एनपीएलमा नयाँ प्रतिभाको आगमनसमेत देखाएको छ ।
सुरुवाती खेलमा बलरको दबदबा नै देखियो । ९ कात्तिकमा भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सका स्पिनर शेर मल्लले आफ्नो जादु देखाए । सुदूरपश्चिम रोयल्सविरुद्ध उनले चार ओभरमा जम्मा ११ रन खर्चिएर तीन विकेट लिए । त्यो पनि सामान्य विकेट होइन । चर्चित विदेशी खेलाडी शेरफेन रदरफोर्ड र स्कट कुग्लेइनलाई समेत उनले पभेलियन फर्काए । विनोद भण्डारीको विकेट पनि उनकै नाममा रह्यो ।
लुम्बिनीले सात विकेटको जित निकाल्दा शेरको बलिङ निर्णायक बन्यो । हुन त त्यही खेलमा किशोर महतोले चार विकेट लिएका थिए । तर, प्लेयर अफ द म्याच शेर बने । विदेशी स्टारको भिडमा नेपाली स्पिनरले आफ्नो छाप छाडे ।
कात्तिक १० मा विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा पनि नेपाली बलर नै चम्किए । राष्ट्रिय टिमबाट खेलिसकेका कमलसिंह ऐरीले चार ओभरमा २६ रन दिएर चार विकेट लिए । उनको घातक बलिङकै कारण चितवनले विराटनगरलाई आठ रनले हरायो । कमलले वेस्ट इन्डिजका आक्रामक ब्याटर आन्द्रे रसेलदेखि श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजसम्मलाई टिक्न दिएनन् । रुपेश सिंह र बसिर अहमद पनि उनको सिकार बने । विदेशी स्टारको नाम र अनुभवले मात्रै मैदानमा काम गर्दैन भन्ने सन्देश कमलले दिए ।
सोही दिन भएको अर्को खेलमा कर्णाली याक्सका युवा स्पिनर युनिश विक्रम ठकुरीले पनि आफ्नो क्षमता देखाए । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सविरुद्ध उनले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए । उनको बलिङमा जनकपुरका जिमी निशम, कप्तान हरमित सिंह र आदित्य महता आउट भए । कर्णालीले १९ रनको जित निकाल्यो । अनि युनिश प्लेयर अफ द म्याच बने । लगातार तीन खेलमा नेपाली बलरले अवार्ड जितेपछि विदेशी खेलाडीको दबदबाको चर्चा पनि केही मत्थर भयो ।
तर, एनपीएल नेपाली खेलाडीको चमक बलिङमा मात्रै सीमित रहेन । ११ कात्तिकमा भएको सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेलमा कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटबाट जवाफ दिए । १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमलाई जिताउन दीपेन्द्रले अविजित ५१ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका दीपेन्द्रले दबाबको अवस्थामा इनिङ्स सम्हाले । इशान पाण्डेसँग चौथो विकेटका लागि ७२ रनको साझेदारी गरे । त्यो अर्धशतक एनपीएलको यस संस्करणमा कुनै नेपाली खेलाडीले बनाएको पहिलो अर्धशतकसमेत थियो । अनिल खरेलले तीन विकेट लिए पनि खेलको निर्णायक भूमिका दीपेन्द्रको ब्याटिङले खेल्यो । त्यसैले प्लेयर अफ द म्याच पनि उनै बने ।
त्यसपछि पालो आयो १७ वर्षीय राहुल यादवको । ट्यालेन्ट हन्टबाट छनोट भएर जनकपुर बोल्ट्समा आइकोनिक खेलाडीका रूपमा समेटिएका राहुलले डेब्यू खेलमै पहिलो बलमा विकेट लिएका थिए । कर्णालीविरुद्धको खेलमा दुई विकेटसमेत लिए । जनकपुरले खेल हारे पनि राहुलको प्रदर्शनले भने ध्यान खिचिसकेको थियो ।
तर, काठमाडौं गोर्खाजविरुद्धको दोस्रो खेलमा उनले आफूलाई अझै बलियोसँग प्रस्तुत गरे । चार ओभर बलिङ गर्दै ३१ रन खर्चेर चार विकेट लिए । काठमाडौंका ओपनर स्मित पटेल र साम हिजलेटदेखि कप्तान करण केसी र आदिल आलमसम्मलाई आउट गरे । एउटा शानदार क्याचसमेत लिए ।
उनकै बलिङमा काठमाडौं ११५ रनमै समेटियो । राहुल प्लेयर अफ द म्याच बने । एनपीएलको दोस्रो खेलमै चार विकेट लिने उनको प्रदर्शनले क्रिकेटप्रेमीको ध्यान तान्यो । इंग्ल्यान्डका चर्चित अलराउन्डर मोइन अलीले समेत राहुललाई नेपालको लसिथ मलिङ्गा बन्न सक्ने प्रतिक्रिया दिएका छन् । दुई खेलमा ६ विकेट लिएका राहुल अहिले सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अगाडि छन् ।
अर्थात्, लाखौँ खर्चिएर ल्याइएका विदेशी खेलाडीका अगाडि ट्यालेन्ट हन्टबाट आएका १७ वर्षीय नेपाली खेलाडीले आफ्नो क्षमता देखाइरहेका छन् । यो एनपीएलको एउटा महत्वपूर्ण उपलब्धि हो ।
अनि नेपाली खेलाडीको प्रदर्शनमा अर्को ठूलो नाम थपियो– सोमपाल कामी । कर्णाली याक्सका कप्तानसमेत रहेका सोमपालले विराटनगर किंग्सविरुद्ध जुन प्रदर्शन गरे, त्यो एनपीएलको अहिलेसम्मकै स्मरणीय प्रदर्शनमध्ये एक बनेको छ ।
पहिलो इनिङ्समा उनले चार विकेट लिए । विराटनगरका लागि ८७ रन बनाएका लोकेश बमदेखि विदेशी स्टार आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकासम्मलाई आउट गरे । बलिङबाट विराटनगरको रन गति रोकेका सोमपालले ब्याटिङमा पनि कमाल देखाए । १८७ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली ६ ओभर ५ बलमा ५७ रन बनाउँदा पाँच विकेट गुमाएर संकटमा थियो । यस्तो अवस्थामा सातौँ नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले खेलको रूप नै बदलिदिए ।
उनले ३२ बलमा अविजित ६२ रन बनाए । चार चौका र तीन छक्का प्रहार गरे । छैटौँ विकेटका लागि ६६ रनको साझेदारी गरे । त्यसपछि गुल्सन झासँग अविजित ६४ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । बलिङमा चार विकेट । ब्याटिङमा अविजित अर्धशतक । अनि टिमलाई रोमाञ्चक जित । सोमपालले आफ्नो करियरकै उत्कृष्ट प्रदर्शनमध्ये एक गरे । उनी प्लेयर अफ द म्याच बने । आफ्नो प्रदर्शनभन्दा टिमको जित महत्वपूर्ण भएको उनको भनाइ थियो ।
बाइटः सोमपाल कामी, कप्तान, कर्णाली याक्स
यसरी सुरुवाती ६ खेलमा नेपाली खेलाडीले नै सबै अवार्ड जितेका छन् । शेर मल्ल, कमलसिंह ऐरी, युनिश विक्रम ठकुरी, दीपेन्द्रसिंह ऐरी, राहुल यादव र सोमपाल कामीले विदेशी खेलाडीको उपस्थितिलाई छायामा पार्दै आफ्नो क्षमता देखाएका छन् ।
तर, यसको अर्थ विदेशी खेलाडीको आवश्यकता छैन भन्ने होइन । विदेशी खेलाडीले एनपीएलको अन्तर्राष्ट्रिय पहिचान, प्रतिस्पर्धा र बजार विस्तारमा भूमिका खेल्न सक्छन् । उनीहरूको अनुभवबाट नेपाली खेलाडीले सिक्ने अवसर पनि पाउँछन् । विदेशी स्टारको उपस्थितिले दर्शक र प्रायोजकको आकर्षण बढाउन सक्छ ।
तर, एउटा कुरा स्पष्ट छ– विदेशी खेलाडी ल्याउँदैमा मात्रै एनपीएलको स्तर बढ्दैन । उनीहरूले कति रन बनाए, कति विकेट लिए वा कति खेल जिताए भन्ने मात्रै पनि सबै कुरा होइन । उनीहरूको उपस्थितिले नेपाली खेलाडीलाई कति सिकायो ? नयाँ प्रतिभाले कति अवसर पाए रु नेपाली खेलाडीले कति राम्रो प्रदर्शन गरे ? एनपीएलको दीर्घकालीन सफलता मापन गर्ने आधार यिनै हुन् ।
अहिलेको सुरुवातले एउटा राम्रो संकेत दिएको छ । विदेशी खेलाडी ब्राण्डका लागि आएका होलान्, तर मैदानमा आफ्नो ब्राण्ड बनाउने काम नेपाली खेलाडीले गरिरहेका छन् । दर्शक विदेशी स्टार हेर्न आएका होलान्, तर ताली नेपाली खेलाडीका लागि बजिरहेको छ । एनपीएलको असली सफलता विदेशी खेलाडीको नाम र मूल्यमा होइन, नेपाली खेलाडीको प्रदर्शन र क्षमतामा देखिनुपर्छ । किनकि विदेशी स्टार आउँछन् र जान्छन्, तर नेपाली क्रिकेटको भविष्य बनाउने भनेका यिनै नेपाली खेलाडी हुन् ।















