काठमाडौं । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ दानिगडमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले जारी गरेको जरुरी सूचनाअनुसार उनीहरू केही दिनदेखि भएको भारी हिमपातका कारण उक्त क्षेत्रमा फसेका हुन् । प्रशासनले कात्तिक १४ गते उनीहरू फसेको जानकारी प्राप्त गरेको थियो । कात्तिक १५ गते हेलिकप्टरमार्फत उनीहरूको उद्धार भइरहेको छ ।
उद्धार भइरहेका पर्यटकमा दुई महिला र चार पुरुष रहेका छन् । उनीहरूमा मौमिता हाल्डर, पियाली कोली, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना बिस्वास र राजेश डे छन् । उनीहरू सबै भारतीय हुन् ।
उनीहरू डोल्पाको शे–फोक्सुण्डो ताल भ्रमणका लागि आएका थिए । भ्रमणका क्रममा उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि पदमार्ग अवरुद्ध हुँदा उनीहरू फसेका हुन् । मौसम प्रतिकूलताका कारण थप जोखिम सिर्जना हुन सक्ने भन्दै प्रशासनले सबैलाई सजग, सतर्क र सुरक्षित रहन आग्रह गरेको छ ।















