Logo
Logo

सुरुङ खनेर ८ कैदी फरार घटना छानबिन गर्न बन्यो समिति


693
Shares

काठमाडौं । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ कैदीबन्दी फरार भएको घटना छानविन गर्न समिति गठन भएको छ । चौबिसै घण्टा सुरक्षा निगरानीमा हुने कारागारमा कैदीबन्दी जमिनमा सुरुङ खनेर भाग्दासम्म ड्युटीमा खटिएका प्रहरीले किन जानकारी पाएनन् ? भन्ने प्रश्नहरू उठेपछि छानबिन गर्न भन्दै समिति गठन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख तथा डीएसपी अनिलराज गिरीले इन्स्पेक्टर विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । समितिमा जिल्ला प्रशासन कार्यालय डोल्पाका एक जना प्रतिनिधि र राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी सदस्य छन् ।

समितिले प्रतिवेदन दिएपछि कैदीबन्दी कसरी भागे भन्ने विषय बल्ल बाहिर आउने डीएसपी गिरीले बताए । उनका अनुसार यो घटना १३ कात्तिकको राति भएको हो । १४ कात्तिकको बिहानमात्रै घटना बाहिरिएको थियो । उक्त कारागारमा १७ जना कैदीबन्दी बसेका थिए । जसमध्ये सुरुङ खनेर ८ जना फरार भएका हुन् ।

फरार हुनेहरूमा त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी–४ का २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा, बोरेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी, आठबिसकोट–१० कै ३२ वर्षीय रामबहादुर कामी, कुमाख गाउँपालिका–५ सल्यानका २८ वर्षीय रेशम राना, जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार र आठबिसकोट–३ का ३२ वर्षीय निशान भनिने अदेश भण्डारी छन् । उनीहरुको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको डोल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्