काठमाडौं । उमेर ३१ वर्ष । स्थायी ठेगाना झापाको दमक । अहिलेसम्म २७ देश घुमेको दाबी । जर्मनी र स्विट्जरल्यान्डका बैंकमा खाता रहेको बयान । पछिल्लो समय बेल्जियमको वाइज बैंकबाट कारोबार भइरहेको खुलासा । नेपालका विभिन्न बैंकमा पनि खाता । अनि सम्पर्कको सूचीमा पूर्वप्रधानन्यायाधीशदेखि बहालवाला न्यायाधीश, राजनीतिक नेता, ठूला व्यवसायी र सुरक्षा निकायका उच्च अधिकारीसम्म ।

यी विवरण कुनै अन्तर्राष्ट्रिय व्यवसायीको परिचयपत्रबाट लिइएका होइनन् । काठमाडौं प्रहरीको हिरासतमा रहेका झापाली युवा इनम सापकोटाको बयानमा आएका विवरण हुन् ।
सापकोटाको परिचय जति असामान्य छ, उनले प्रहरी हिरासतमा दिएको भनिएको अडियो बयानमा आएका दाबी त्यसभन्दा कम रोचक छैनन् । कतै अदालतमा विचाराधीन मुद्दा मिलाउन तीन करोड रुपैयाँको डिल भएको चर्चा छ, कतै नेपाली कांग्रेसको आधिकारिकता विवादमा १८ करोड रुपैयाँको कारोबार भएको दाबी । कतै पूर्वप्रधानन्यायाधीशको नाम छ, कतै सर्वोच्च अदालतका न्यायाधीशको । कतै ठूला व्यापारीको चर्चा छ, कतै सुरक्षा निकायका उच्च अधिकारीसँगको सम्पर्क ।
सामान्य व्यावसायिक सम्पर्क भएका एक युवा, प्रभावशाली व्यक्तिहरूको निकटताबाट फाइदा लिन खोज्ने कथित बिचौलिया, वा न्यायिक तथा प्रशासनिक प्रक्रियामा अनौपचारिक प्रभाव पार्न सक्ने पहुँचको दाबी गर्ने पात्र नै इनम सापाकोटा हुन ।
अहिलेसम्म सार्वजनिक भएका विवरणले एउटा गम्भीर विषयलाई बहसमा ल्याएका छन् । राज्यका शक्तिशाली संस्थासम्म पहुँच भएको दाबी गर्ने व्यक्तिको वास्तविक भूमिका के थियो?भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
सापकोटाको बयानमा आएको सबैभन्दा गम्भीर दाबी काठमाडौं जिल्ला अदालतमा विचाराधीन एउटा मुद्दासँग सम्बन्धित छ । उनले उक्त मुद्दा मिलाउन तीन करोड रुपैयाँको डिल भएको बताएका छन् । ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलका अध्यक्ष नवीन तुलाधरमार्फत मुद्दासम्बन्धी कथित सेटिङका लागि २० लाख रुपैयाँ आएको उनको बयानमा उल्लेख छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरजबराका भाइ प्रभुशमशेर जबरासँगको आर्थिक सम्बन्ध र रकम परिचालनबारे पनि उनले बयानमा उल्लेख गरेको बताइएको छ । तर यी सबै बयानको मिसिल अदालतमा नपुग्दासम्म विश्वास गर्ने आधार भने देखिदैन ।
सापकोटाको बयानमा अर्को ठूलो रकमको चर्चा छ—१८ करोड रुपैयाँ । उनले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा गगनकुमार थापाको पक्षमा आधिकारिकता सुनिश्चित गराउन १८ करोड रुपैयाँको डिल भएको दाबी गरेको बयान दिएको बाहिर आयो । सर्वोच्च अदालतका न्यायधीशदेखि, व्यवशायीक घरनाका व्यक्तिहरुसँगको उठवसबारे पनि बयान दिइरहेका छन् ।
सापकोटा प्रकरणलाई थप पेचिलो बनाउने पक्ष उनको मोबाइल र ह्वाट्सएप संवाद हुन् ।प्रहरी अनुसन्धानका क्रममा पूर्वप्रधानन्यायाधीश जबरा, बहालवाला तथा पूर्वन्यायाधीश र सुरक्षा निकायका उच्च अधिकारीहरूसँग उनको सम्पर्क रहेको विवरण भेटिएको बताइएको छ ।कसले कसलाई के प्रयोजनका लागि सम्पर्क गरेको थियो ? कुनै मुद्दाको सुनुवाइ, आदेश वा न्यायिक प्रक्रियाबारे अनौपचारिक छलफल भएको थियो कि थिएन ? सुरक्षा निकायमा सरुवा, बढुवा वा ठेक्कापट्टाका विषयमा हस्तक्षेपको प्रयास भएको थियो कि थिएन ? यी प्रश्नबारे बाहिर आएका संवादहरु मौन रहेका छन् । करोडौ रुपैयाको कारोबार आर्थिक स्रोत के हो भन्ने बारेमा पनि अहिलेसम्म प्रहरी अनुसन्धान अघि बढ्न सकेको छैन ।
यदि उनी केवल प्रभावशाली व्यक्तिहरूसँग परिचय भएका व्यक्ति थिए भने त्यसलाई अपराध मान्न मिल्दैन । तर त्यही परिचयलाई प्रयोग गरेर सरकारी निर्णय प्रभावित पार्ने, न्यायिक प्रक्रियामा अनुचित हस्तक्षेप गर्ने वा आर्थिक लाभ लिने काम भएको प्रमाण भेटिए त्यसको अनुसन्धान गरेर बैंक खाता धेरै, कारोबारको स्रोत कति पारदर्शी थियो भन्ने विषयमा प्रहरीको ध्यान जानु आवश्यक रहेको छ ।
सापकोटाले आफ्नो बयानमा जर्मनी र स्विट्जरल्यान्डका बैंकमा खाता रहेको बताएका छन् । पछिल्लो समय बेल्जियमको वाइज बैंकिङ सेवाबाट कारोबार गरिरहेको उनको भनाइ छ । नेपालमा एनआईएमबी र सिटिजन्स बैंकमा खाता रहेको तथा भारतमा अध्ययनका क्रममा भारतीय स्टेट बैंकमा खाता खोलेको उनले बताएका छन् ।
नेपाल फर्किएपछि प्रभु बैंकमा पनि खाता खोलेको उनको बयानमा उल्लेख छ । उनले क्रेडिट कार्डको ऋण नतिरेको र शेयर कारोबारी अतितलाल श्रेष्ठसँग मिलेर शेयर कारोबार गरेको पनि बताएका छन् । शेयर कारोबारमा लगानी भएको रकम आफ्नै भएको उनको दाबी छ । नयाँ बानेश्वरस्थित आई फ्लिक्स मलको कारोबार मिलाउन सबै पैसा लगाएको भनाइसमेत उनको बयानमा आएको छ ।
अन्तर्राष्ट्रिय बैंकमा खाता हुनु, धेरै देश घुम्नु वा विभिन्न व्यवसायमा लगानी गर्नु आफैंमा शंकास्पद गतिविधि होइन । तर जब यिनै विवरण करोडौँ रुपैयाँको कथित डिल र शक्तिशाली व्यक्तिहरूसँगको सम्पर्कको दाबीसँग जोडिन्छन्, तब सम्पत्तिको स्रोत र कारोबारको प्रकृति के हो भन्नेबारेमा प्रहरीले बाहिर ल्याएको छैन ।
सापकोटाले प्रधानमन्त्री वालेन्द्र साह नेतृत्वमा सरकार बनेपछि आफूले वैशाख–जेठदेखि ठूला कारोबार तथा कथित सेटिङमा सक्रियता बढाएको बताएका छन् । उनको ह्वाट्सएप संवादमा न्यायाधीश हरि फुयालसँग प्रधानमन्त्री साहको नामसमेत उल्लेख छ । प्रधानमन्त्रीको चासो रहेको भन्दै सापकोटाले फुयाललाई पटकपटक सन्देश पठाएको विवरण सार्वजनिक भएको छ ।सरकार गठनपछि सापकोटाको गतिविधि वास्तवमै बढेको थियो भने त्यसको कारण के थियो ? उनले कुन काम गराउन खोजेका थिए? सरकारी वा न्यायिक निकायबाट कुनै निर्णय प्रभावित भएको प्रमाण छ कि छैन ?
सापकोटाको सम्पर्क सञ्जालमा व्यवसायी दीपक भट्टको नाम पनि जोडिएको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी विषयमा अनुसन्धान तथा अभियोजन भएको र उनी थुनामा रहेको विवरण प्रस्तुत गरिएको छ । भट्टलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको थियो । त्यसपछिको घटनाक्रम र सम्भावित अनौपचारिक पहुँचबारे अनुसन्धान हुँदै जाँदा सापकोटा र पूर्वप्रधानन्यायाधीश जबराबीचको सम्पर्कसम्बन्धी विवरण पनि चर्चामा आएको बताइएको छ ।
















