
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो आह्वान गरेका हुन् ।
उनले नेकपा (एमाले) व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गर्दै उकुसमुकुस भएर बसिरहेका नेता कार्यकर्ताहरुलाई विद्रोह गरेर नेकपासँगको एकता प्रक्रियामा सहभागि हुन आग्रह गरे । नेता नेपालले अहिले मुलुकमा रहेका विद्यमान समस्याको समाधानका लागि कम्युनिष्ट शक्तिहरु एकतावद्ध हुन आवश्यक रहेको भन्दै विभिन्न कम्युनिस्ट घटकमा रहेका नेता तथा कार्यकर्तालाई एकतामा आउन पनि आग्रह गरे ।
उनले मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वका कम्युनिस्ट घटकहरुलाई समेत समाजवाद निर्माणको निम्ति एकतामा आउन आह्वान गरे । सहसंयोजक नेपालले विगतमा नेत्रविक्रम चन्दसहितका नेताहरूसँग समाजवादी मोर्चा निर्माण गरी देशव्यापी अभियान सञ्चालन गरिएको स्मरण गर्दै उक्त अभियानले हजारौँ कार्यकर्तालाई आन्दोलनमा जोडेको बताए । विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलनप्रति देखिएको निराशा र विभिन्न देशमाथि भइरहेको अमेरिकी हस्तक्षेपका कारण चुनौती बढिरहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।
उनले भने, ‘उमा भुजेलजीले सम्भवतः नेत्रविक्रम चन्ददेखि लिएर अरु पूर्व माओवादीका घटकका मान्छेलाई पार्टीमा ल्याउने हिसाबले राम्रै भन्नुभयो । तर यो एमाले कब्जा गरेको मान्छे तान्ने बारेमा लास्टमा एक शब्द जोडिदिनुभयो । सम्भवतः माधव नेपालले पनि बोलिहाल्नुहुन्छ होला भनेर ठानेर एमालेमा विभिन्न हिसाबले उकुसमुकुसका साथ बसिरहेकालाई पनि के शब्द प्रयोग गर्ने, विद्रोह गरेर आउन भन्ने कि ? सिङ्गै पार्टी लिएर आउन भन्ने कि ? यस अर्थमा त्यति मात्रै होइन, अरु थुप्रै घटकहरु हुनुहुन्छ । उहाँहरुलाई पनि हामीले आह्वान गर्नैपर्छ । मोहनविक्रम सिंहको नेतृत्वको होस्, चाहे मोहन वैद्यजीको नेतृत्व, नेत्रविक्रम चन्दजीलाई समेत म एकतामा आउनको लागि आह्वान गर्न चाहान्छु ।
नेत्रविक्रमजीसहित मिलेर हामीले समाजवादी मोर्चा बनाएका थियौँ । र त्यो समाजवादी मोर्चाको माध्यमबाट देशव्यापी रुपमा अभियान पनि चलाएका थियौँ । त्यो अभियान शानदार रुपमा सबै ठाउँमा आयोजना भएको थियो । हजारौँ हजार कार्यकर्ताहरु उक्त अभियानमार्फत हाम्रो आन्दोलनमा जोडिनुभएको थियो । सहकार्यको निम्ति आउनका लागि म उपेन्द्र यादवजीलाई समेत आह्वामन गर्न चाहान्छु । राष्ट्रियताको रक्षाको खातिर मिलेर अगाडि बढौँ भन्न सकिन्छ । संविधानको रक्षा गर्नका लागि, गणतन्त्र जोगाउनका लागि, समावेशीताको नीतिलाई जोगाउनका लागि र जनाधिकारको रक्षा गर्नका लागि एकतावद्ध भएर, मिलेर, सहकार्य गरेर अघि बढ्नका लागि उहाँ लगायतका अरु अरु समूहहरुलाई पनि भन्न सकिन्छ । किनभने यो देशप्रति सबैभन्दा बढी चिन्ता र चासो नेपाली कम्युनिष्ट पार्टीको छ । जिम्मेवार नेताहरु पनि यहाँ छन् । जिम्मेवार ढंगले अगाडि बढ्ने घटकहरु पनि हामीसँग एकता गरेर आइसक्नुभएको छ । राष्ट्रले पनि पत्याएको छ । विश्वको कम्युनिष्ट आन्दोलन त्यहाँका नेताहरुले पनि हाम्रो पार्टीप्रति ठूलो आशा र अपेक्षा गरेका छन् । र हामीले पनि अपेक्षा गरेका छौँ । केही समय पहिलेसम्म निराशाको बादल फैलिँदै छ कि भन्ने लाग्ने गर्दथ्यो । कम्युनिष्ट आन्दोलन नै धरासायी हुन्छ कि विश्वभरी नै भन्ने पनि चिन्ता छाएको थियो । त्यसमा पनि अमेरिकी साम्राज्यवादका आक्रामक नीतिहरु देखेपछि विभिन्न देशहरुमाथि उनीहरुले गरिरहेको आक्रमण र त्यसै गरी नेपाललाई पनि उनीहरुले आफ्नो रणनीतिक स्वार्थ पूरा गर्ने स्थानको रुपमा ठानिरहेको सन्दर्भमा पनि अनि कतिपयका अभिव्यक्तिहरुबाट कम्युनिष्टहरुको अब काम छैन भन्ने अभिव्यक्तिहरुबाट कतिपयमा परिरहेको असरले पनि कतै निराशा बढ्ने त होइन भन्ने हामीलाई लागिरहेको थियो । तर अब त्यस्तो अवस्था रहेन ।’
नेपालले राष्ट्रिय स्वार्थको संरक्षण र राजनीतिक उपलब्धिको रक्षाका लागि कम्युनिस्ट तथा अन्य राजनीतिक शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।
















