
दृष्टि विशेष प्रतिनिधी । अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ । यो चुनावले ३५ सिनेटर, ४३५ हाउस अफ रिप्रेजेन्टेटिब्स, ३६ गभर्नर, ६,१३६ राज्यसभा सदस्य र हजारौं स्थानीय निकायका जनप्रतिनिधि चुन्नेछ ।
अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपति चुनावको दुई वर्षपछि हुने चुनावलाई मध्यावधि चुनाव भनिन्छ । २०२४ को आमनिर्वाचनमा ट्रम्प राष्ट्रपति विजयी भएपछिको मध्यावधि चुनाव हो यो ।
सामान्यतस् मध्यावधि चुनावलाई तत्कालिन राष्ट्रपतिका एजेण्डामाथिको जनमत संग्रहका रूपमा लिने प्रचलन छ । यस अर्थमा यो चुनाव राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालका एजेण्डामाथिको जनमत संग्रह हो ।
यस चुनावमा सत्तारूढ रिपब्लिकन पार्टीले कंग्रेसका दुबै सदनमा रहेको आफ्नो बहुमत जोगायो भने राष्ट्रपति ट्रम्पका एजेण्डा अनुमोदन भएको मानिन्छ । तर, त्यसो नभएर प्रतिपक्षी डेमोक्रेटिक पार्टीले जित्यो भने उनका एजेण्डा अस्वीकृत भएको बुझ्नुपर्ने हुन्छ ।
विश्वकै एकमात्र महाशक्ति राष्ट्र अमेरिकी चुनावको घरेलु राजनीतिमा मात्र महत्व हुँदैन, यसको प्रभाव सारा विश्व राजनीतिमै पर्छ । अझ, त्यसमा पनि ‘अमेरिका फस्ट’ नीतिका साथ राष्ट्रपति ट्रम्प सारा विश्वसँगै ‘ट्यारिफ वार’ गरिरहेकाले उनको जीत वा हारमा बाँकि विश्वको पनि जीत वा हार रहेको हुन्छ भन्दा फरक नपर्ने स्थिति छ ।
के होला त परिणाम ?
चुनावअघिका लगभग सबै जनमत सर्भेक्षणहरूले कंग्रेसका दुबै सदनमा रिपब्लिकन पार्टीले आफ्नो बहुमत गुमाउने प्रक्षेपण गरेका छन् ।
यसरी प्रक्षेपण गर्नेमा सीएनएनलगायतका डेमोक्रेटिक पार्टी नजिकका लिबरल मिडिया मात्र छैनन्, फक्सन्यूज जस्तो रिपब्लिकन पार्टी नजिकको मिडियाले यस्तै प्रक्षेपण गरेको छ । दुबैतिरका मत सर्भेक्षण एकै दिशातिर देखिएकाले घडीको सुई डेमोक्रेटिक पार्टीतिरै सरेको भन्न सकिन्छ । यद्यपि, धेरैजसो पछिल्ला अमेरिकी मत सर्भैक्षणको प्रक्षेपण नमिलेकोले यसपटक पनि यसै भन्न सकिने स्थिति छैन ।
अमेरिकामा केही निर्वाचन क्षेत्र मात्र यता–उता हुने ‘स्विङ कन्स्टिचुयन्सी’ हुन्छन् । बाँकि क्षेत्रमा कुन पार्टीको उम्मेद्वारले जित्ने भन्ने लगभग तय हुन्छ । यस चुनावमा सिनेटका ७ र हाउस अफ रिप्रेजेन्टेटिब्सका २१ क्षेत्र ‘स्विङ कन्स्टिचुयन्सी’ बन्न पुगेका छन् ।
यिनै निर्वाचन क्षेत्रले कुन पार्टीको चुनावी पल्ला भारी बनाउने निर्णय गर्नेछन् । न्युयोर्क टाइम्स र सिएना युनिभर्सिटीको प्रक्षेपण यथार्थको नजिक मानिन्छ । यो प्रक्षेपणले डेमोक्रेटिक पार्टीले तल्लो सदनमा गतिलै र सिनेटमा सुविधाजनक बहुमत ल्याउने देखाएको छ । ‘स्विङ स्टेट’का सबै डेमोक्रेटिक सिनेटर उम्मेद्वार अग्रस्थानमा देखाएको छ ।
फक्स न्युजको सर्भेक्षणले डेमोक्रेटिक पार्टीको ५४ प्रतिशत र रिपब्लिकन पार्टीको ४५ प्रतिशत मतदाता समर्थन देखाएको छ । डेमोक्रेटिक पार्टीको ं९ अंकको बढोत्तरीले उसलाई कम्तिमा कंग्रेसको तल्लो सदनमा सहज बहुमत मिल्ने उसको प्रक्षेपण छ । माथिल्लो सदन सिनेटमा भने राता राज्यबाट स्विङ स्टेटमा बदलिएका सात राज्यलाई टस अप स्थितिमा देखाउँदै यसै भन्न नसकिने उसको निस्कर्ष छ ।
सबै मत सर्भेक्षणहओको औसत निकाल्दा सिनेटमा डेमोक्रेटको स्थान ५१ देखि ५३ सम्म र रिपल्कनको ४७ देखि ४९ सम्म हुने देखिन्छ । यदि प्रक्षेपण सही निस्क्यो भने यसपटक डेमोक्रेटिक पार्टीले कंग्रेसका दुबै सदनको रिपब्लिकन बहुमत उल्टाएर आफ्नो पक्षमा पार्नेछ । यस्तो अवस्थालाई डबल फ्लिप भनिन्छ ।
अमेरिकामा यस्तो डबल फ्लिप बिरलै हुन्छ । यसअघि चारपटक १९४६, १९७४, १९९६ र २००६ मा मात्र यस्तो भएको छ । यसपटक त्यस्तो भयो भने यो अमेरिकाको इतिहासमै पाँचौ डबल फ्लिप हुने छ ।
कति छ डबल फ्लिपको सम्भावना ?
अमेरिकामा यसपटक राष्ट्रपति ट्रम्प इतिहासमै सबैभन्दा अलोकप्रिय राष्ट्रपतिका रूपमा चुनावी मैदानमा छन् । मत सर्भैक्षणहरूले उनको लोकप्रियता ३१–३६ प्रतिशतसम्म रहेको देखाएका छन् ।
यति अलोकप्रिय हुँदा पनि उनले चुनावी क्याम्पेनमा आफू नै ब्यालेटमा भएको बताएका छन् । महंगी, मुद्रास्फिति, भष्टाचार र इरानयुद्धलाई लिएर मतदाता भड्किए पनि ट्रम्प सबै ठीकठाक भएको बताउँछन् । यति मात्र हैन, उनी आफूलाई अमेरिकाकै सबैभन्दा महान राष्ट्रपति र आफ्नो कार्यकाललाई अमेरिकाको सुनौलो युग भन्ने दाबी छफड्दैनन् ।
राष्ट्रपति ट्रम्पको दाबी र मतदाताले भोगिरहेको यथार्थबीचको भिन्नताले डेमोक्रेट्सहरूलाई ‘टकिङ पोइन्ट’ दिएको छ । अझ यसो भन्दा पनि हुन्छ कि राष्ट्रपति ट्रम्प आफैले डेमोक्रेटस्हरूको लागि आधा चुनावी क्याम्पेन गरिदिएका छन् ।
अमेरिकाको दोस्रो ठूलो मतदाता ब्लक ल्याटिनोमाथि देशनिकाला गर्ने नाममा मच्चाइएको आइस आतंक पनि उनीहरूले बिर्सेका छैनन् । सिमान्तकृत गरीवीको रेखामुनि रहेका अश्वेत मतदाताहरू पनि २०२४ मा ट्रम्पलाई मतदान गरेर आफू ठगिएको महसुस गरिरहेका छन् ।
अमेरिकामा युरापको जस्तो जेन जी आन्दोलन नभए पनि ट्रम्पका पछिल्लो नीतिसँग रूष्ट यो पुस्ता चुनावमा अत्यधिक सहभागी भएको छ । उनीहरूको ट्रम्पविरोधी प्रचण्ड रूझानले अन्ततः डेमोक्रेटहरू लाभान्वित भएबका छन् ।
अमेरिकामा यसपटक मध्यावधि निर्वाचनको इतिहासमै सबैभन्दा बढी मेल ब्यालेट र अग्रिम मतदान भएको छ । यो समाचार टिप्पणी लेखिरहेको बेलासम्म लगभग ६ करोड मतदाताले मतदान गरिसकेका छन् ।
अमेरिकामा बढी मात्रामा डेमोक्रेटहरूले नै अग्रिम मतदान गर्छान् । धेरै अग्रिम मतदान हुनु भनेको डेमोक्रेटको पक्षमा धेरै मत पर्नु हो ।
अमेरिकी चुनावको एउटा रोचक पक्ष के पनि छ भने सामान्यतस् मध्यावधि निर्वाचनमा तत्कालिन राष्ट्रपतिको दल हार्छ । यो इतिहासको पृष्ठभूमिमा पनि रिपब्लिकन पार्टी हार्ने देखिन्छ ।
राष्ट्रपति ट्रम्प स्वयंले पनि यसपटकको चुनावी क्याम्पेनको अन्तिम सभामा यो सत्य स्विकारेका छन् । उनले थप के पनि भनेका छन् भने ‘डेमोक्रेट्सहरूले जिते भने म ‘भिटोम्यान हुनेछु र भिटो भिटो भिटो प्रयोग गर्नेछु । त्यसपछि डेमोक्रेट्सहरू स्वतः मसँग ‘डिल’ गर्न आउक्नेछन् ।’
माथिसल्ला सबै पृष्ठभूमीलाई हेर्ने हो भने अमेरिका यसपटक ‘डबल फ्लिप’को धेरै नजिक पुगेको छ । त्यसका लागि धेरै पर्खनै पर्दैन, अर्को २४ घण्टामा सबै छ्याङ्गै हुने छ ।
निर्वाचन परिणामपछि के हुन्छ, त्यसको निर्धारण राष्ट्रपति ट्रम्पको प्रतिक्रियामा भर पर्छ । अनिश्चय र छिन छिनमा अडान फेरिरहने बानीलाई नै आफ्नो सिग्नेचर शक्ति ठान्ने राष्ट्रपति ट्रम्पले के गर्छन्, त्यो भने समयकै गर्भमा छ ।
















