
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको धोती नयाँ दिल्लीमा खुस्कियो । कात्तिक ६ गते एउटा भारतीय टेलिभिजनले आयोजना गरेको कार्यक्रममा उनले बिना सन्दर्भ भारतलाई खुसी पार्न विगतमा नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिएको र अब त्यो युग सकिएको बताएका थिए । उनको यो भनाइले उनी कतिसम्म नालायक छन् भन्ने कुरा पुष्टि गर्छ । जबकि, नेपाली राष्ट्रवाद कुनै देशविरुद्ध कहिले पनि लक्षित थिएन र छैन ।
नेपाल–भारत सम्बन्ध भारत स्वतन्त्र हुनुभन्दा अगाडिदेखि नै बलियो थियो भन्ने कुरा इतिहासले पुष्टि गर्छ । भारतको स्वतन्त्रता संग्राममा समेत नेपाली राजनेताहरुले ठूलो योगदान पु¥याएका छन् । बरु भारत स्वतन्त्र भइसकेपछि सन् १९५० को नेपाल–भारत सन्धिका कारण भारतबाट नेपाल हेपिएको र समयानुकूल उक्त असमान सन्धि पुनरावलोकन हुनेपर्ने माग उठ्दै आएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले भारत भ्रमणको क्रममा यो कुरालाई औपचारिक रुपमा उठाएको कुरा पनि यहाँ स्मरण गर्न चाहन्छु ।
नेपाल–भारत सम्बन्धमा कतैबाट बाधा अड्चन आएको छ भने त्यो भारतकै व्यवहारबाटै आएको छ । नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले पुनः परिभाषित गर्न भनेर इपिजीसमेत गठन भयो । त्यसको कार्यान्वयन भइदिएको भए नेपाल–भारततबीच रहेको समस्या समाधान हुने थियो, तर त्यो प्रतिवेदन अहिलेसम्म भारत सरकारले ग्रहण गर्न मानेको छैन । यसबाट उसको नेपालप्रतिको दृष्टिकोण बुझ्न सकिन्छ ।
त्यसैगरी, सार्वभौम संसद्ले नेपालको चुच्चे नक्सा पास गरेर लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपालको नक्सामा समेटिसकेपछि पनि उक्त क्षेत्र भारतको नियन्त्रणमा छ, नेपालको भूमिबाट भारतीय सेना हटाउन नेपालले धेरैपटक जोडबल गर्दा पनि उक्त भूमि भारतले कब्जा गर्नुले नेपालप्रति उसको नियत बुझ्न सकिन्छ । अझ प्रधानमन्त्री बालेन साहले संसद्मै नेपालले पनि भारतको भूमि मिचेको छ भनेर बोल्नुले बालेनको राष्ट्रवादी छवि धुमिलिएको छ ।
निकट भविष्यमा प्रधानमन्त्री साह भारतको औपचारिक भ्रमणमा जाँदैछन् । उनले सन् ५० को सन्धिदेखि चुच्चे नक्सासम्मका मुद्दा उठाउँछन् कि उठाउँदैनन् भन्ने कुरा आम नेपालीको चासोको विषय बनेको छ । नेपाली जनताले आफ्नो देशको हितमा मुद्दा उठाउँदा जसरी अर्थमन्त्री वाग्लेले भारतविरोधी भनेर सिंगो नेपाली जनताको अपमान गर्न खोजेका छन् त्यो खेदजनक छ । भत्र्सनायोग्य छ ।
अर्थमन्त्री वाग्ले कुनै राजनीतिक विचार वा सिद्धान्तबाट भन्दा पनि जुन पार्टीमा लाग्दा आफ्नो हित हुन्छ, त्यही पार्टीमा लाग्ने महत्वाकांक्षी व्यक्ति हुन् । विचारविहीन व्यक्ति जुनसुकै पार्टीमा भए पनि त्यो अत्यन्तै खतरनाक हुन्छ भन्ने कुरा उनको यो भनाइबाट पनि बुझ्न सकिन्छ । विश्व बैंकको जागिर छाडेर उनी राजनीतिक महत्वकांक्षा बोकेर नेपाली कांग्रेस प्रवेश गरे । उनले योजना आयोगजस्तो महत्वपूर्ण जिम्मेवारी पनि पाए ।
अहिले उनी रास्वपाबाट अर्थमन्त्री बनेका छन् । वास्तवमा, यो हैसियत नै उनका लागि थामिनसक्नु भारी बनेको छ । पहिलोपटक अर्थमन्त्रीको जिम्मेवारी पाएका उनी असफल अर्थमन्त्रीमा दर्ज भइसके । उनको बजेट कार्यान्वयन तहमै फेल भइसक्यो । अब उनले रवि लामिछाने र बालेन साहबीचको मनमुटावको फाइदा उठाउन भारतको चाकरी गरेका छन् । अर्थात्, उनी आफूलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याउन खोजिरहेका छन् । भारतले पनि उनको भित्री चाहना बुझेको छ । तर, प्रधानमन्त्री साहको आसन्न भारत भ्रमण अगाडि कम्तीमा उनले भारतभक्ति देखाउन आम स्वाभिमानी नेपालीको शिर झुकाउने दुस्साहस नगरेको भए हुन्थ्यो । कहाँ के बोल्ने, के नबोल्ने भन्ने कुरा हेक्का नराख्दा वाग्लेका कारण सिंगो रास्वपाको राष्ट्रवाद नयाँ दिल्लीमा खुस्केको छ ।
















