काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्न लागेको हो ।

पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा बनाउन बैठक बस्न लागेको जनाइएको छ । हालै सार्वजनिक इनम सापकोटाको अडियोमा सभापति गगन थापाले पार्टीलाई वैधानिक दिलाउन १८ करोड खर्चेको प्रसङ्ग अहिले चर्चामा छ । सरकारले निराधार कपोकल्पित र नियोजित आरोप लगाएर पार्टीको वैधानिकमाथि प्रश्न उठाउन खोजेको कांग्रेसको बुझाइ छ ।
सरकार प्रतिपक्षको आवाज थुन्न लागि परेको भन्दै न्यायपालिकाको स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप विरुद्ध राजनीतिक एवं कानुनी प्रतिवाद गर्ने कांग्रेसले बताउँदै आएको छ । पार्टीको जिल्ला र प्रदेशमा अधिवेशन हुन बाँकी रहेकोले ती विषयमा महामन्त्री र सहमहामन्त्रीहरूबीच छलफल हुने जनाइएको छ ।

















