
विश्वभर सत्ता परिवर्तनको लहर चलिरहेको छ अहिले । यो लहरमा नयाँ प्रविधिसँग अभ्यस्त युवा पुस्ता लागिरहेको छ जो परम्परागत शासकहरुलाई फालेर आफै शासन गर्न उद्धत छ । श्रीलंका, बँगलादेश हुँदै नेपालसम्म पुराना शासकहरुको साटो नयाँ शासकहरु स्थापित भएको विद्रोह नयाँ प्रविधि जत्तिकै छिटो भयो । श्रीलंकामा केही महिना लाग्यो होला, बंगलादेशमा केही समय लाग्यो होला । तर नेपालमा भने केही घन्टामै सफल भएको विद्रोहको आगो अहिले युरोपसम्म सल्किएको छ ।
फ्रान्समा विद्यार्थीहरु विद्रोहमा सहभागी छन् । उनीहरुको मुद्दा सामान्य छ तर उद्देश्य सत्ता परिवर्तनको देखिन्छ । फ्रान्समा हिंसा र लुटपाट भइसकेको छ । पछिल्लो समय दंगा नियन्त्रणका लागि खटिएका प्रहरीलाई आगो लगाइदिएका छन् । इटाली, स्पेनलगायतका देशहरुसम्म प्रदर्शन फैलिएको छ । यी प्रदर्शनहरुका पछाडि कुन कुन विश्व शक्ति छन् भन्ने विश्लेषण पनि नभएका होइनन् । पुराना सत्ताधारी दल तथा नेताको राजनीतिक भविष्य नै सक्याउने गरी भइरहेका प्रदर्शनले विश्वलाई छोपिसकेको छ । यसले विश्व राजनीतिक, समाज र अर्थतन्त्रलाई कुन दिशामा लैजाने हो ? यसका पनि विश्लेषण हुन जरुरी छ ।
राजनीतिक संकट
युक्रेन युद्धले युरोपेली शक्तिहरु द्वन्द्वको दलदलमा फस्दै गएका छन् । बेन हेल फाइनान्सियल टाइम्समा युरोपबारे लेखिएका दुई पुस्तकहरुको समालोचना गर्दै युरोप माथि रुस, चीन र अमेरिका समेतबाट खतरा बढेको र पहिलेभन्दा एकताको जरुरी रहेको तर्क गरेका छन् । युरोपको आर्थिक वृद्धि कमजोर भइसकेको छ । ऊर्जा संकट र मूल्यवृद्धिले मानिसहरुको दैनिक जीवनयापन महङ्गो भएको छ । बिलको तर्कमा मतदाताहरु रिसाएका छन्, चञ्चल र बहकिइहाल्ने खालका युवाहरुलाई सामाजिक सञ्जालले आगोमा घ्यू थप्ने गरेको छ ।
युक्रेन युद्धमा सयौं अर्बको धनराशी खर्च गर्दा युरोपेली युनियनका देशहरु आफै संकटमा धकेलिएका छन् । फ्रान्सले अफ्रिकी महादेशमा आफ्नो प्रभाव मात्र गुमाइरहेको छैन आफैभित्र नयाँ पीढींबाट विद्रोहको सामना गरिरहेको छ । युरोपको पर्यटकीय देश स्पेन र इटाली समेत समस्यासँग जुधिरहेका छन् । युरोप को राजनीतिमा परेको संकटको असर विश्वव्यापी पर्दै गएको छ । पश्चिमाहरुले भोगेको संकट र खेपिरहेको चुनौतीबाट जन्मिएको आँधीले सत्ता परिवर्तनका विश्वव्यापी लहर चलिरहेको छ । यस घटनालाई आरएसएस प्रमुख मोहन भागवतले पश्चिमबाट आएको आँधीले बँगलादेश र नेपालमा सत्ता परिवर्तन भएको विश्लेषण गरेका छन् ।
विजयादशमीमा नागपुरको सम्बोधनमा उनले सत्ता परिवर्तनले मात्र समस्या समाधान नभएको उल्लेख गर्दै देश नेता र कर्मचारीले मात्र चलाउने नभई सिंगो समाजले चलाउने हो भनी महत्वपूर्ण सन्देश दिए । सामाजिक सञ्जालको प्रयोगमा असन्तुष्ट मतदातालाई बहकाउन लागिपरेका सत्ताबाहिर लामो समय रहेका भारतीय नेताहरुप्रति लक्षित भाषण थियो त्यो । सत्ता परिवर्तनको प्रयास भारतमा पनि ‘कक्रोच’ पार्टीका नाममा नभएको होइन, जुन तत्काल विफल भएको छ । तर, निस्तेज भइसकेको छैन ।
रुस र चीनबाट सुरक्षा खतरा बढेको निष्कर्षमा पश्चिमाहरु २१औं शताब्दीमा पुगिसकेका थिए । यो निष्कर्ष अहिले झन् चर्को बनेको छ । सन् २०२६ मा केथरिन डि भ्राइज र अलेक्जेन्ड्रोज केन्टिीकेलेनिसको प्रकाशित पुस्तक हाउ युरोप सर्भाइभ पुस्तकमा पनि विश्व व्यवस्थाको परिवर्तन आइरहेको तर्कसहित यही विषय उल्लेख छ । अमेरिका र बेलायतका गुप्तचर प्रमुखहरुले संयुक्त रुपमा सन् २०२४ फाइनान्सियल टाइम्समा संयुक्त लेखमार्फत् विश्व व्यवस्थामा परिवर्तन ल्याउन खोजिएको, रुस र चीनबाट खतरा बढेको विषय उल्लेख गरिएको थियो । उनीहरुले संयुक्त रुपमा कदम चाल्ने भनेका कुरा लेखमै उल्लेख छ । त्यसपछि विश्वभर आँधीहरु आउन थाले सत्ता परिवर्तनका ।
भेनेजुएलामा मदुरोलाई आधा रातमा निवासबाटै उठाएर लग्यो अमेरिकाले । क्युबामा दबाब बढायो । ब्राजिलको चुनावमा अमेरिकाविरोधी र ब्रिक्सलाई बलियो बनाउनुपर्ने पक्षधर लुलालाई हराउन डोनाल्ड ट्रम्प सक्रिय भए । लुलाले ट्रम्पले दादागिरी देखाएको भन्दै विरोध गरेका थिए । तर, लुलाले चुनाव जितेर ट्रम्पलाई धक्का दिए । पश्चिमा एशियामा इरानको परम्परागत इस्लामिक सत्ता ढाल्ने अमेरिकी प्रयास विफल भयो । तर, युद्धले विश्व राजनीतिमा नयाँ संकटहरु ल्यायो ।
यमनका हुथीहरु खतरनाक आक्रमणहरु गर्न थाले । छद्म र खुला तरिकाले शक्ति राष्ट्रहरु साना तथा मझौला शक्तिका देशहरुमा खेल्न थाले । आफू अनुकूलकालाई सत्तामा ल्याउने र प्रतिकूलकालाई हटाउने रणनीतिहरु चाल्न थाले ।
अफ्रिकाका कतिपय देशहरुमा रुस समर्थित शक्ति सैनिक ‘कू’बाट सत्तामा आए । सिरिया र भेनेजुएलाको सत्ता परिवर्तनमा अमेरिकी संलग्नता रह्यो । सबैभन्दा ठूलो धक्का युरोपेली देशहरुलाई प¥यो यी घटनाले । बेन हेलले युरोपेलीहरु अमेरिकाको सुरक्षा छाताविना आफ्नो प्रतिरक्षा गर्न नसक्ने भएको तर्क गरेका छन् । बीसौं शताब्दीको अन्तसम्म सँसार नै आफ्नो बनाएका युरोपेलीहरु एक्काइसौं शताब्दीमा आइपुग्दा यति कमजोर हुँदै गएकी, आफ्नो विगतसँग तुलना गर्दा लज्जित हुनुपर्ने अवस्थामा पुगेका छन् विश्वसामु ।
युक्रेन युद्धमा युरोपेलीहरु अमेरिकी सहयोगका बाबजुद पनि कमजोर सावित भइसकेका छन् । युद्ध बाघको सवार भइसकेको छ युरोपेली देशहरुलाई । युक्रेनले रुससँग कति भूभाग गुमाएपछि युद्ध अन्त हुन्छ भन्ने मात्र रह्यो अब । जेलेन्स्की जति बलियो हुन्छन् उति रुसले युद्धबाट लाभ लिने गजबको परिस्थिति निर्माण भइरहेको छ । एकातर्फ युक्रेनलाई हतियार दिइरहेको छ अमेरिकाले, अर्कोतर्फ रुससँग तेल किन्ने सम्झौता गर्न पुगेको छ । शक्तिराष्ट्रहरु आफ्नो स्वार्थका लागि जुनसुकै कदम चाल्न पुग्छन् र कमजोर मुलुकहरुले त्यसलाई टुलुटुलु हेर्नुबाहेक केही रहँदैन ।
आर्थिक र सामाजिक चुनौती
विश्वमा आर्थिक चुनौती बढी झेलेको क्षेत्रमा युरोप हो । आर्थिक वृद्धिदर कमजोर छ । जीवनयापनको खर्च बढेर मानिसहरु निकै दबाबमा परेका छन् । बेरोजगारी ह्वात्तै बढेको छ । सन् २००९ देखि चलेको युरोपेली क्षेत्रको ऋणको संकट सन् २०१८ सम्म परेको थियो । त्यसको असर फरक रुपमा पर्दै गयो । युरोप आर्थिक रुपमा खोक्रो हुनथालेको र नयाँ संकटको सामना गरिरहेको पत्तो पाएको रुसले युक्रेनमाथि हमला गर्ने साहस गर्न सक्यो । उसले युरोपका सामाजिक चुनौतीहरु पनि बुझिरहेको थियो । यही मौकामा नाटोसम्वद्ध युरोप का देशहरुमाथि दबाब बढाउन थाल्यो । युक्रेन युद्धले थिलथिलो भएका युरोपेली देशहरुमा सामाजिक चुनौतीहरु पनि बढ्दै गएका छन् । त्यहाँ विरोध प्रदर्शनहरु हिंसाका रुपमा फैलन थाल्नुको कारण त्यही हो । त्यस्ता असन्तुष्टिको आगोमा तेल खन्याउने गतिविधिहरु भइरहेका छन् । युरोप मा विद्यमान संकट र प्रदर्शनहरुका पछाडि कुन कुन देशको हात छ भन्ने विश्लेषण नभएका होइनन् ।
पश्चिम एशियामा युद्ध फैलिएपछि कच्चा तेल र ग्यासको मूल्य बढेको छ । युरोपमा ग्यासको मूल्य चार गुणाले बढेको छ । अन्य क्षेत्रमा पनि तेलको मूल्यवृद्धिको असर परिरहेको छ । दैनिक जीवनयापन नै संकटमा परेपछि असन्तुष्टि बढ्ने भइहाल्यो । असन्तुष्टिको आगोले सत्ता विरोधीलाई लाभ पुग्छ नै । विश्वभर सत्ता परिवर्तन गर्न खोज्नेहरुले मौका छोपिरहेका छन् । उनीहरुले छोप्न खोजेको अवसरमा शक्ति राष्ट्रहरुको पक्ष विपक्षमा भूमिका देखिन्छ । विश्वभर जुन लहर चलेको छ त्यसमा सामाजिक सञ्जालसहित डिजिटल प्लेटफर्म साधन बनिरहेको छ । प्रविधिको उच्चतम प्रयोगले सत्ता परिवर्तनका गति छिटो हुनसक्ला तर सामाजिक समस्या समाधानको गति सुस्त हुन्छ । यो विश्वभर सत्ता परिवर्तन भएका देशहरुमा देखिएकै छ । समाजशास्त्री विलियम अगवर्नको कल्चरल ल्याग सिद्धान्तले प्रविधिलगायत भौतिक सामाग्रीको छिटो परिवर्तन भएपनि अभौतिक संस्कृति मूल्य मान्यता, विश्वासमा परिवर्तन सुस्त गतिमा मात्र हुन्छ भनेको छ । त्यो सिद्धान्तलाई आधार मानेर विश्लेषण गर्दा विश्वमा राजनीतिक सत्ता प्रविधिको आँडमा छिटो परिवर्तन भइरहेका छन् । तर, त्यो परिवर्तनबाट जुन सामाजिक तथा आर्थिक परिवर्तनको अपेक्षा गरिएको छ त्यो निकै ढिलो गति लिइरहेको छ ।
यसले ल्याउने असन्तुष्टि भयावह हुनसक्छ । विश्वमा जसरी परिवर्तनको लहर चलिरहेको छ त्यसरी नै अर्को संकट सामुन्ने छ । नेपाल पनि त्यसबाट अछूतो नरहला, टाकुरामा पुग्नभन्दा अडिन गाह्रो छ । प्रविधिको उच्चतम प्रयोगबाट छोटो समयमा सत्तामा पुगेकाहरुका लागि सामाजिक, राजनीतिक र आर्थिक समस्याको समाधान कठिन हुँदै गएको छ । यान्त्रिक बन्न खोज्दा यन्त्रबाट चोट खान थालेका छन् उनीहरु ।
विश्व व्यवस्थाको परिवर्तनसँगै शक्ति राष्ट्रको टकरावले सृजित नयाँ भूराजनीतिक चक्रव्यूहलाई बुझ्न नसक्नेहरुले त्यसको सामना गर्न कठिन छैन । युरोप संकटको आँधी केही वर्षयता विश्वभर फैलिएको छ । पश्चिमबाट आएको आँधीले युरोप संकटमा छ । यो आँधी कसरी थामिएला ? थामिएपछिको संकटहरु सत्ता परिवर्तन भएका देशहरुले समाधान गर्न सक्लान् कि नसक्लान् ? यान्त्रिक शैलीका शासकहरुका लागि सत्तामा पुग्नुभन्दा सत्तामा बसेर समस्या समाधान गर्न गाह्रो बन्दै गएको छ ।

















