Logo
Logo

तेस्रोपल्टको चीन यात्रा


0
Shares

सन् २०१७ मा हामी चीनको ताल्येन जाने भयौं । अचानक जस्तै तय भएको थियो यो यात्रा । यसपाली हामी बुढाबुढी सँगसँगै जाँदै थियौँ । त्यसैले पनि यो यात्रा मेरो निम्ति पहिलेका अरु यात्राभन्दा सुखद थियो । म बीचमा एकपटक गइसकेकी भए पनि सरोज झण्डै सत्ताइस वर्षपछि फेरि चीनको मूल भूमिमा प्रवेश गर्दै थिए ।

एशिया प्यासिफिक एड्भान्स्ड नेट्वर्क (आपान)को नियमित सम्मेलन त्यसपटक ताल्येनमा हुँदै थियो । ‘आपान’को चिकित्सा कार्यसमूहका एक सदस्यका हैसियतमा रहँदा यस्ता सम्मेलनहरूमा विकासोन्मुख देशका स्वास्थ्यस्थिति समेटिएका सत्रहरूको कमी हुने गरेको देखेर विकासोन्मुख देशहरूका यथार्थको प्रतिनिधित्व हुने गरी ग्रामीण स्वास्थ्य सेवाको सत्र उनैले प्रवेश गराएका थिए । त्यसैको संयोजन गर्न उनी जानुपर्ने थियो । कुनै पनि निहुँमा भ्रमण गर्ने अवसर पाएसम्म नछोड्ने भएकाले मलाई पनि सँगै जान मन लाग्यो ।

पहिले पाँच वर्ष चीनमा बस्दा धेरै प्रान्त र सहर घुम्न पाए पनि उत्तरी चीन भने घुम्न पाएकी थिइनँ । त्यति विशाल देशमा जति नै घुमे पनि थोरै नै हुन्छ । ताल्येनको पनि नाम मात्रै सुनेकी थिएँ । यसपाली बुढा त्यही ताल्येन शहरमा पुग्ने भनेपछि म पनि पछि लागेँ । जब चीन पुग्नु नै छ भने पइचिङ्ग किन छुट्याउने ? अनि त्यति लामो समय बिताएको ठाउँ शाङहाईको परिवर्तन हेर्ने मौका झन् किन चुकाउने भन्ने भयो । सन् १९९१मा देश फर्केपछि हामी दुवैजना शाङहाई जाने मौका पाएका थिएनौँ । यी तीनैवटा सहर घुम्ने अग्रिम योजना र टीकटको बन्दोबस्त ग¥यौँ ।

सरोज संलग्न संस्था नेपाल रिसर्च एजुकेशन नेटवर्क (एन् रेन)का संस्थापक अध्यक्ष तथा हाम्रा मित्र डा. भुषणराज श्रेष्ठलगायत अन्य साथीहरूपनि पनि त्यो यात्रामा सँगै थिए । नेपालबाटै एउटै जहाजमा उडेका थियौँ । सोच र कुराकानी मिल्ने, एकार्काको स्वभावसँग राम्रो परिचित र अनौपचारिक तहमै कुरा गर्न सकिने घनिष्ट साथी भएकोले यात्रा रमाइलो हुने नै भयो ।

क्वाङ्चउको बाटो गएका थियौं । क्वाङ्चउ एयरपोर्टमा यति छोटो ट्रान्जिट भयो कि चीनको सिमकार्ड किन्ने समय नै भएन । पछि थाहा भयो, यसैपनि चीनमा सीमकार्ड किन्न त्यति सजिलो रहेनछ । एकछिनमै अर्को जहाज चढ्यौँ र त्यो दिन बेलैमा ताल्येन पुग्यौँ । सुन्दर सहर रहेछ । सुरुमै त्यहाँको मौलिकताले प्रभावित बनायो । रुसी वास्तुकलाको प्रभाव जताततै देखिन्थ्यो ।

समुद्रतटीय शहर । हामीले हेर्दा त असाध्यै समृद्ध देख्यौँ । तर पछि थाहा पायौँ – शाङ्घाईका मानिस भने त्यो सहरलाई आर्थिक रूपमा पछि परेको सहर मान्दा रहेछन् । हाम्रो आँखामा भने ताल्येन सुन्दर मात्र नभएर ज्यादै विकसित पनि थियो । हामी बसेको होटल समुद्रसँग जोडिएकोले त झनै मन प¥यो । अहिले चीनका निम्ति प्रस्तावित नेपाली राजदूत डा. कल्याण शर्माले आफ्नो ट्राभल कम्पनीबाट त्यो होटेलको समुद्री दृश्य देखिने एउटा राम्रो कोठा छानेर मिलाइदिनु भएको थियो । उहाँकै कारण हाम्रो त्यो चीन यात्रा अरू हिसाबले पनि सुखद बनेको थियो । कोठैबाट समुद्री दृश्य मजाले देखिने कोठामा बस्न पाउँदा भूपरिवेष्ठित देशबाट गएका हाम्रा निम्ति झनै रमाइलो लाग्ने नै भयो ।

पुगेको भोलिपल्ट सरोजको कन्फरेन्स सुरु भयो । उनी व्यस्त हुन थाले । मलाई त्यो कन्फरेन्सको मतलब थिएन– म त घुम्नै भनेर गएकी थिएँ । सुरुमा समुद्रको वरिपरी एक्लै घुमेँ । समुद्रकिनार नजिकैका पार्क र पसल चाहार्दै हिँडेँ । एक्लै । स्वतन्त्र ! भोक लाग्न थालेपछि खाजापसल खोज्न थालेँ । चीनमा खानेकुरा पाइने विभिन्न तहका पसल जहाँ पनि भेटिन्छन् ।

तर आफू शाकाहारी भएकोले अलि गाह्रो हुन्छ– जहाँ पुगेपनि । समुद्र छेउका रेष्टोराँहरूमा पाइने परिकारहरु धेरै जसो समुद्री नै हुनु स्वाभाविक थियो । भोक लाग्दै गएपछि आफैसँग सम्झौता गर्न थालेँ । माछा नदिनु तर त्यसको झोल भए केही छैन भनेँ । उनीहरुले पनि कुरा बुझे । माछाको झोलमा राम्रो खानेकुरा बनाइ दिए । अलि अलि भए पनि चिनिया भाषा बोल्न सक्दा चीनको यात्रामा धेरै मद्दत हुन्छ ।

पहिलो चोटी चीन जानेहरुको निम्ति भनेर कुनै बेला एउटा पुस्तकको सह–लेखक भएकी थिएँ, विश्वभाषा क्याम्पसमा चिनियाँ भाषा पढाउँदा । त्यो पुस्तक रत्न पुस्तक भण्डारमा अझै पनि बाँकी छ । धेरै बिक्री भएको पुस्तकमध्यकै हो रे त्यो । त्यसको प्रकाशक पनि रत्न पुस्तक भण्डार नै हो । त्यो पुस्तक छापिने बेलासम्म नेपालीहरु धेरै चीनमा पुगेका पनि थिएनन् अहिले जस्तो । केही कामले जानु प¥यो भने त्यहाँ काम चलाउन नभइ नहुने कुराहरु रोमन र नेपालीमा लेखिएकोले सजिलो मानेका थिए धेरैले । अहिले धेरै संस्करणपछि सानो साइज बनाएर बोक्न सजिलो बनाएको रहेछ ।

धेरै समयपछि चीन पुग्दा त्यो पुस्तक आफैले सम्झिन पुगें । त्यो बेलासम्म पनि गुगल ट्रान्स्लेशन वा त्यस्तै कुनै उपकरण प्रयोग गर्न जानेकी थिइन । आफूले पढेको भाषा भएपनि लामोसमय सम्म प्रयोग नभएकाले निकै अप्ठ्येरो लाग्न थालिसकेको थियो । र पनि एक्लै भएका बेला जान्दै नजान्नु भन्दा सम्झिए जति मात्र बोल्दा पनि काम त चल्दो रहेछ ।

बुढाको कन्फरेन्स जम्मा दुई दिनको थियो । पहिलो दिन सकियो । दोस्रो दिन म आफैँ नै एक युआन तिरेर बस चढें– जहाँसम्म पुगिन्छ, पुगिन्छ भनेर । अलिअलि सहर घुमेर त्यही रूटको बसबाट फर्किँदै गर्दा बाटैमा एउटा ठुलो आर्ट ग्यालरी देखेँ । त्यहीं ओर्लेर ग्यालरीमा पसें । सानो सानो म्युजियम जस्तै रहेछ । कस्तो राम्रो ! त्यो ठाउँमा त्यति धेरै विदेशीहरु नपुग्ने रहेछन् क्यारे ! म पस्दा अचम्म मानेर हेर्न थाले । मेरो कपडा र त्यहाँ काम गर्नेहरूको कपडाको जस्तै रङ्ग थियो ।

एकजना केटीले मसँग तस्बिर खिच्ने अनुमति मागिन् । हामी दुबैको फोनबाट फोटो लियौं । उनी चिया बेच्ने पसलमा काम गर्दिरहिछन् । उनको आफ्नै पसल पो थियो कि, ग्यालरीकै थाहा भएन । चीनका नामी ब्रान्डका चियाहरूको सङ्ग्रह रहेछ । केही चिया मलाई पनि किन्न मन लाग्यो र किनेँ । पछि हामी एकछिनको निम्ति साथी बन्यौं । तर मलाई छिट्टै फर्किनु थियो । बाटो कति लामो छ थाहा नभएकोले हराउने पो हो कि भन्ने चिन्ता पनि थियो । त्यो ग्यालरीबाट मैले सानो गिफ्ट पनि पाएँ र धन्यवाद भन्दै फर्कें । त्यही साँझ सरोजको कोरियन मित्र प्रोफेसर हानसँग सहर डुल्न गयौँ वरिपरी । साँझ पख सहर झनै सुन्दर लाग्यो । आहा ताल्येन! भन्न मनलाग्यो । मन परेका सहयात्रीहरुसंग घुम्दा अझै सुन्दर लाग्यो …।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000