Logo
Logo

तिहारलगत्तै विपद प्रभावितलाई १५ हजार वितरण गर्ने तयारी


0
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण गर्ने तयारी गरेको छ । प्राविधिक जटिलता र कार्यालयको विदाका कारण रोकिएको राहत वितरणलाई तिहारपछिको पहिलो दिनबाटै शुरु गर्ने गरी कार्ययोजना बनाइएको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताएका हुन् ।

शुक्रवार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै कार्यकारी प्रमुख उप्रेतीले राहत वितरणमा ढिलाइ हुनुका कारण र प्राधिकरणले गरिरहेका प्रयासबारे जानकारी दिए । उनले सरकारी प्रक्रियागत झन्झट र विपद् प्राधिकरणको प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण राहत वितरणमा केही विलम्ब भएको स्वीकार गरे ।

उप्रेतीकाअनुसार सर्भर डाउन भएको अवस्थामा पनि लाभग्राहीको खातामा रकम पु¥याउन कागजी प्रमाणीकरणसहितको ‘मिटिगेसन एप्रोच’ अपनाइएको छ । यसअघि नै विकास साझेदार संस्थाहरुसँगको सहकार्यमा ५ हजार १ सय १६ जना लाभग्राहीलाई ४५ हजार रुपैयाँ बराबरको नगद वा भाउचर उपलब्ध गराइएको छ ।

उनले मादक पदार्थबाहेक दैनिक उपभोग्य वस्तु खरिद गर्न मिल्ने गरी उक्त भाउचर वितरण गरिएको जानकारी दिए । सडक पूर्वाधारको विषयमा बोल्दै उनले भूगोलको जटिलताका बाबजुद सडक खुलाउने प्रयास भइरहेको बताए । दीर्घकालीन समाधानका लागि रसुवागढी–त्रिशूली सडक खण्डलाई चीन सरकारको सहयोगमा वातावरणीय सन्तुलन कायम गर्दै स्तरीय सडक निर्माण गर्नुपर्ने अवधारणा अघि सारिएको उनले उल्लेख गरे ।

उनले भने, ‘विपद् प्रभावित क्षेत्रको आर्थिक पुनरुत्थानका लागि सरकारले विभिन्न पहल गरिरहेको छ । विकास साझेदारहरूसँगको सहकार्यमा कृषि उपज, विशेषगरी काउली र आलु नष्ट हुन नदिन बिदुरसम्म ढुवानी गर्ने व्यवस्था गरिएको छ । प्रभावित परिवारलाई दिइने १५ हजार रुपैयाँको जीविकोपार्जन तथा घरभाडा सहायता वितरणका लागि लाभग्राही विवरण तयार भइसकेको छ । प्राविधिक समस्या र प्रशासनिक प्रक्रियाका कारण केही ढिलाइ भएपनि वैकल्पिक व्यवस्था अपनाएर तिहारपछि पहिलो दिनदेखि लाभग्राहीको खातामा रकम पठाउने तयारी गरिएको छ । दोहोरो सहायता नपर्ने गरी ५ हजार ११६ जना लाभग्राहीलाई ४५ हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको छ । तिहारलाई लक्षित गरी विकास साझेदारमार्फत आवश्यक सामग्री खरिद गर्न मिल्ने भौचर वितरणसमेत भइरहेको छ । सडक तथा पुल पुनःस्थापनामा पनि निरन्तर काम भइरहेको छ । कठिन भौगोलिक अवस्थाका बाबजुद धुन्चेसम्मको सडक सञ्चालनमा ल्याइएको छ । स्याफ्रुबेँसीमा निर्माण गरिएको अस्थायी पुल बाढीले क्षति पु¥याए पनि पुनःस्थापनाका प्रयास जारी छन् । दीर्घकालीन आर्थिक पुनरुत्थानका लागि रसुवागढीदेखि त्रिशूलीसम्म आधुनिक, सुरक्षित र वातावरणमैत्री सडक निर्माण गर्ने अवधारणामा चीन सरकारसँग छलफल भइरहेको छ । यसले व्यापार, पर्यटन र आर्थिक गतिविधिलाई गति दिने अपेक्षा छ । अस्थायी आवाससँगै स्थायी आवास निर्माणको मोडेललाई अन्तिम रूप दिने काम पनि तिब्र रूपमा भइरहेको छ । प्रशासनिक तथा प्राविधिक अवरोध हटाउँदै प्रभावित नागरिकलाई छिटो राहत, सहायता र पुनस्र्थापनाको सुविधा उपलब्ध गराउनु सरकारको प्राथमिकता हो ।’

अस्थायी र स्थायी आवास निर्माण कार्यलाई तिब्रता दिइएको बताउँदै उप्रेतीले तिहारको विदाका समयमा पनि सम्बन्धित टिमले काम गरिरहेको जानकारी दिए । विपद् व्यवस्थापनमा देखिएका नीतिगत र प्रक्रियागत बाधाहरू फुकाउन प्राधिकरण सक्रिय रहेको उनको भनाइ छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000