
काठमाडौं । अमेरिकामा हत्या अभियोगमा मुद्दा खेपिरहेका नेपाली मूलका नरेश भट्टले आफ्नै पत्नी ममता काफ्लेको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका छन् । तर उनले पत्नी ममताले आत्महत्या गरेको र आफूले डरका कारण शव लुकाएको दाबी गरेका छन् ।
आफ्नै पत्नीको हत्या मुद्दामा दोस्रो दिन बयान दिने क्रममा भट्टले ममताको शव व्यवस्थापन गर्न खोजेकोदेखि शव काटेर टुक्र्याएको र फोहोरमा फालेकोसम्मका घटनाबारे अदालतमा खुलासा गरेका हुन् ।
सन् २०२४ को गर्मीयाममा ममता बेपत्ता भएकी थिइन् । उनको शव अहिलेसम्म फेला परेको छैन । नरेशमाथि हत्या, मृत शरीर लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा मुद्दा चलिरहेको छ ।
बिहीबार अदालतमा बयानका क्रममा भट्टले आफूले ममतालाई कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरे । ममताका परिवारका सदस्य र साथीहरूले उनीमाथि घरेलु हिंसा हुने गरेको बताउँदै आएका छन् । तर भट्टले ती आरोप अस्वीकार गरे ।
उनले आफू वैवाहिक सम्बन्धबाट खुसी नरहेको र सम्बन्धविच्छेद गर्न चाहेको पनि बताए । सम्बन्धविच्छेदको कुरा गर्दा ममता आत्तिने र तनावमा पर्ने गरेको उनको भनाइ थियो । उनले ममता सामाजिक सञ्जालका लागि टिकटक भिडियो बनाउँदा मात्रै खुसी देखिने गरेकोसमेत बताए ।
भट्टका अनुसार उनी जुलाई २९, २०२४ को राति करिब ८ बजे सुत्न गएका थिए । ममता भने भान्सामा काम गर्दै फोनमा कुरा गरिरहेकी थिइन् ।
भोलिपल्ट बिहान करिब ४ बजे छोरीको हेरचाह गर्न उठेका उनले पछि बाथरुममा जान खोज्दा असामान्य गन्ध महसुस गरे । त्यसपछि पत्नीलाई खोज्दा बेडरूमको खाटनजिक भुइँमा अचेत अवस्थामा भेटेको उनले बयानमा बताए ।
ममताको घाँटी र भुइँमा बान्ता देखिएको तथा त्यसमा चक्की, रगत, क्याप्सुल र खानाका कण रहेको भट्टले बयान दिए । उनले त्यहाँ ‘सेल्फोस’ नामक कृषि विषादीसमेत देखेको दाबी गरे ।
ममतालाई अचेत अवस्थामा भेटेपछि बचाउन आफूले सीपीआर दिने प्रयास गरेको तर प्रहरी वा आपत्कालीन सेवामा तत्काल खबर नगरेको उनले बताए । पत्नीको मृत्युलाई लिएर आफूलाई दोषी ठहर गरिने डरले आत्तिएको उनको भनाइ थियो ।
भट्टले ममताको शव फोहोरको डस्टबिनमा अटाउन खोजेको र त्यसका लागि शरीरका विभिन्न भाग काटेर सानो बनाउने प्रयास गरेको स्वीकार गरे । उनले शवका खुट्टा शरीरबाट अलग गर्ने प्रयास गरेको तर मानसिक र शारीरिक रूपमा कमजोर महसुस भएपछि काम पूरा गर्न नसकेको बताए ।
अदालतमा अभियोजन पक्षले प्रस्तुत गरेको इलेक्ट्रिक आरासमेत आफूले प्रयोग गरेको भट्टले स्वीकार गरे । उनले घरको डस्टबिनबाट पुरानो फोहोर निकालेर आफ्नो गाडीमा राखेका थिए र पछि फल्स चर्चमा फालेका थिए । त्यसपछि ममताको शव भान्सामा प्रयोग हुने फोहोरका झोलामा राखेको उनले बताए । शवका अवशेष राख्न तीनवटा झोला प्रयोग गरेको उनको अनुमान छ ।
शवका टुक्रा अन्यत्र नभई घरको ग्यारेजमा रहेको फोहोरमै फालेको उनले बताए । अभियोजन पक्षका वकिलले शव टुक्राटुक्रा पारेर फेला नपरोस् भनेर फोहोरमा राखेको हो ? भन्दै प्रश्न गर्दा भट्टले ‘हो’ भनेर स्वीकार गरेका थिए ।
भट्टले शव व्यवस्थापनका लागि आवश्यक सामान खोज्दै होम डिपो र वालमार्ट गएको पनि बताए । होम डिपोबाट पञ्जा किनेको स्वीकार गर्दै उनले पोटोम्याक नदीसम्म शव लैजान मिल्ने सामग्री खोजिरहेको बताएका थिए ।
त्यस्तै, ममताको शव काट्न प्रयोग गरिएको चक्कु र अन्य सामग्रीबारे पनि अभियोजन पक्षले प्रश्न गरेको थियो । भट्टले केही चक्कु प्रयोग गरेको स्वीकार गरे । उनले ममताको मोबाइल फोन पछि नालीमा फालेको पनि बताए ।
अदालतमा भट्टको गुगल सर्च हिस्ट्रीबारे पनि प्रश्न उठाइएको थियो । उनले अगस्ट ५ मा भर्जिनियामा बेपत्ता व्यक्तिहरू फेला पर्ने सम्भावनाबारे खोजी गरेको हुन सक्ने स्वीकार गरे ।
त्यस्तै, अगस्ट १७ मा ‘के म आफ्नो बच्चा साथीलाई दिन सक्छु ?’ भन्ने विषयमा खोजी गरेकोबारे उनले छोरीको अस्थायी हेरचाहका लागि विश्वासिलो व्यक्ति खोजिरहेको बताए ।
अभियोजन पक्षले ‘मिट कटर’ र ‘नाइफ सर्पनर’ जस्ता सामग्रीबारे गरिएको खोजीबारे पनि प्रश्न गरेको थियो । भट्टले केही खोजी गरेको सम्झना भए पनि सबैको कारण याद नभएको बताए । उनले आफूले अनुसन्धान अवधिमा कम्तीमा १४ हजार गुगल सर्च गरेको अनुमान सुनाए ।
अभियोजन पक्षले सन् २०२३ डिसेम्बर ११ को एउटा तस्बिर पनि अदालतमा प्रस्तुत गरेको थियो । उक्त तस्बिरमा ममताको दाहिने आँखामुनि नीलडाम र हात तथा नाकमा रगत देखिएको थियो । उनले नरेशलाई पठाएको सन्देशमा ‘यो दोस्रो पटक हो’ लेखेकी थिइन् । त्यसको जवाफमा नरेशले सम्बन्धविच्छेदका कागजातमा हस्ताक्षर गर्ने बताएका थिए । तर भट्टले उक्त घटनामा आफू जिम्मेवार नभएको र ममतामाथि कहिल्यै हात नउठाएको दाबी गरे ।

















